संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन हाल्न ओलीको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी संसद्‌मा प्रस्तुत गरिएको विधेयकमा संशोधनको तयारी गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कुन कुन बुँदामा कसरी तयारी गर्ने भनेर बताइने बताए । 

'संसदमा टीआरसीसम्बन्धी विधेयक आएको छ । कुन कुन विषयमा संशोधन गर्ने भनेर बुँदाबुँदामै बताइन्छ । त्यसलाई कमरेडहरूले टिपेर त्यसअनुसार बहस गर्न तयारी गर्नुहोला‚' ओलीले भने, 'विभिन्न विधेयकहरू आउँदै छन् । त्यसमध्ये विधेयकमा समग्रमा होइन‚ सच्याउनुपर्ने ठाउँ धेरै हुन्छन् । त्यस्तो विधेयकलाई पूर्ण रुपमा देश, जनता, लोकतन्त्र, विकास, स्वच्छता र पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणको पक्षमा बनाउन चाहन्छौं । त्यसका लागि संशोधन पनि हाल्नुपर्ने हुन्छ । ' ओलीले यदि त्यो मानिएन भने आवश्यकताअनुसार विरोधको स्तर के हुन्छ त्यो गर्ने बताए ।

सरकारले बेपत्ता नागरिक छानबिन आयोग, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी संशोधन विधेयक आइतबार संसद्‌मा टेबुल गरेको छ । सो विधेयकमाथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइएको छ । एमालेले विधेयकलाई सम्बन्धित समितिमा पठाउन माग गर्दै आएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री दाहालले धोका दिनुभयो : अध्यक्ष लिङ्देन

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएर बाटो मोडेकोले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको बताए । प्रधानमन्त्री दाहालले कुनै जानकारी नै नदिई निर्णय गरेकोले आफ्नो पार्टीले उच्च नैतिकता देखाउँदै सरकार छोडेर बाहिरिनुपरेको बताए ।

प्रधानमन्त्री दाहालले संसद्‍मा दोस्रो पटक विश्वासको मत लिन राखेको प्रस्तावको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल दुई महिनामा दुईपटक विश्वासको मत प्राप्त गर्ने भाग्यमानी भएपनि फेरि वैशाख महिनामा विश्वासको मत लिने अवस्था नआउला भन्न नसकिने बताए ।

'मलाई धेरै कुरा भन्नु छैन । प्रधानमन्त्री जीलाई अर्को यात्राका लागि शुभकामना छ । तपाईंले बाटो फेरेपछि रात कटाउन पनि गाह्रो भयो,' उनले भने, 'हामीले निश्चित समझदारी गरेर सरकारमा गएका थियौं । विकास, सेवा र सुशासन जस्ता विषयमा सँगै बसेर काम गर्ने भन्ने सहमति गरेका थियौं । तर बीचमै बाटो फेर्नुभयो ।'

उनले प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनमा कुनै छलफल नै नगरी निर्णय गरेपछि सरकार छोड्नुपर्ने अवस्था आएको बताए । उनले प्रधानमन्त्री दाहालले नै विश्वास तोडेर धोका दिएको बताए ।

'प्रधानमन्त्रीलाई सबै दललाई समेटेर लगौं भन्ने रहर भो । कुनै विषयमा सबैको सहमति चाहिन्छ । तर सबैलाई सबै पद बाँडेर जाने यो व्यवस्थाले परिकल्पना गरेको चिज होइन,' उनले भने, 'बाटो त तपाईंले फेर्नुभयो । त्यसैले हामीले छोड्नुपर्ने अवस्था आयो । धोका हामीले दिएको होइन तपाईंले दिएको हो ।'

प्रकाशित : चैत्र ६, २०७९ १५:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×