१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

राष्ट्रलाई नोक्सान हुनेगरी व्यवसायीले निर्माणमा गरेको उपेक्षा टुलुटुलु हेरेर बस्दिनँ : मन्त्री श्रेष्ठ

'छलछाम गर्न सकिन्छ भन्ने दिन गए । जसरी मलाई निद्रा लाग्दैन तपाईँहरुलाई पनि निन्द्रा नलागोस् न ! जनता, राष्ट्रलाई यस्तो हालतमा पुर्‍याउन म पनि जिम्मेवार छु भनेर तपाईंहरुलाई पिरलो होस्' 
कान्तिपुर संवाददाता

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी व्यवसायीले निर्माणमा गरेको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएका काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रलाई नोक्सान हुनेगरी व्यवसायीले निर्माणमा गरेको उपेक्षा टुलुटुलु हेरेर बस्दिनँ : मन्त्री श्रेष्ठ

उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेमा आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने उनको भनाइ थियो । मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्ने तर्फ पनि सचेत गराएका थिए । निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफू जुनसुकै मन्त्रालयसँग समन्वय गर्ने तर निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।

श्रेष्ठले भने ‘दस वर्ष अगाडि बिड गर्ने एउटा पुलको एउटा पिलर खडा गरेर बस्न मिल्छ ? राजधानीकै अगाडि यही टेकुमा एउटा पुल छ, त्यसलाई सरकारले लिन मिल्छ ? बाटाघाटा सरकारलाई बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ । त्यो मिल्छ ? मलाई त अहिले निन्द्रा लाग्दैन ।' राज्यले पनि व्यवसायीलाई समयमै भुक्तानी दिनुपर्ने उनले बताए । सरकारका तर्फबाट भएका कमजोरी भए आफूले सच्याउने तर निर्माण व्यवसायीले पनि काममा विलम्ब गरिदिन नहुने भन्दै उनले समयमै निर्माणका काम सम्पन्न गर्न निर्देशन दिए ।

'यति कुरा तपाईँहरुसँग भन्नैपर्छ मैले राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्सानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि टुलुटुलु हेरेर बस्न सक्दिनँ । आवश्यक कारबाहीको प्रक्रियामा जानेछु । यो पनि म तपाईँहरूलाई खुलेर भन्न चाहन्छु । ठेक्का रद्द गर्नु बहादुरी होइन । मलाई थाहा छ । ढिलै भए पनि निर्माण व्यवसायीले काम पूरा गर्छन्, आयोजना पूरा गर्छन् भन्ने वातावरण त पाउनुपर्‍यो नि । जति हेर्दा पनि उस्तै उस्तै । छलछाम गर्न सकिन्छ भन्ने दिन गए,' उनले भने ।

यस्तै उनले निर्माण व्यवसायीलाई गम्भीर भएर काम सम्पन्न गर्न आग्रह गरे । छलफल गरेर वा काम सम्पन्न गर्न संकल्प गर्न पनि उनको आग्रह थियो । उनले भने, 'जसरी मलाई निद्रा लाग्दैन तपाईंहरुलाई पनि निन्द्रा नलागोस् न । जनता, राष्ट्रलाई यस्तो हालतमा पुर्‍याउन म पनि जिम्मेवार छु भने तपाईँहरुलाई पिरलो होस् न । तब पो मिलेर गर्न सकिन्छ । तपाईँहरुको निम्ति म वन मन्त्रालय जानुपर्छ कि, अर्थ मन्त्रालय जानुपर्छ कि, उद्योग मन्त्रालय जानुपर्छ कि प्रधानमन्त्री कार्यालयमा जानुपर्छ सब ठाउँमा कुद्न तयार छु । आफै बसेर गर्नसक्ने काम सबै गराउन तयार छु । तर तपाईँहरुले पनि मलाई वचन दिनुपर्छ । देशको विकास निर्माणको आयोजनाको जिम्मा लिएको छु, जुन प्रकारको म्याण्डेटमा मैले काम गर्छु भनेको छु, अब म गरेर देखाउँछु भनेर तपाईँहरुको संकल्प छ कि छैन ? त्यो संकल्पको आवश्यकता छ ।’ यसैबीच मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु, पुँजीगत खर्चको वृद्धि र व्यापार घाटा न्यूनीकरण गर्नु सरकारको कार्यभार रहेको भन्दै निर्माण व्यवसायीहरुलाई आफ्नो निवासमा नभेट्ने बताए ।

प्रकाशित : फाल्गुन २८, २०७९ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?