प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैं उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो ।

'संक्रमणकालिन न्याय प्रक्रिया लामो समयसम्म टुङ्गो नलागेको भन्ने विषयको उठान गरी न्याय र परिपूरण सम्बन्धी कानूनी उपचारका सन्दर्भमा प्रस्तुत रिट निवेदन पर्न आएको कुरा निवेदन व्यहोराबाट देखियो । तसर्थ यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारण सहित बाटोको म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र प्रत्यर्थी नं. १ ले आफैं वा कानून बमोजिमको प्रतिनिधि मार्फत र अन्य प्रत्यर्थीहरूले महान्यायाधिवक्ताको कार्यालय मार्फन लिखित जवाफ पेश गर्नु' सर्वोच्चको आदशेमा छ ।

निवेदक ज्ञानेन्द्रराज आरण लगायतले द्वन्द्वकालमा भएका हत्याका विषयमा माओवादी अध्यक्ष दाहाललाई जिम्मेवार रहेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर ज्ञानेन्द्रराज आरणको माग बमोजिम अन्तरिम आदेश भने जारी भएको छैन । शुक्रबारको इजलासले मुद्दालाई अग्राधिकार दिन भनेको छ ।

'रिट निवेदनमा उठाइएको विषयको महत्त्व, गम्भीरता र संवेदनशीलतातर्फ दृष्टिगत गर्दा प्रस्तुत विषय विषयको निरुपण छिटोरितो रुपमा गर्नुमनासिव देखिएकोले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ (१) बमोजिम अग्राधिकार दिइएको छ' आदेशमा छ ।

प्रकाशित : फाल्गुन २६, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

युथ प्रेसिडेन्ट सिंगापुरको टोली नेपालमा

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्ष नेतृत्व र दक्ष जनता (बेटर लिडर्स बेटर पिपुल्स) भन्ने नारासहित विश्वभर नेतृत्व क्षमताको विकासको लागि सन् १९५० मा स्थापना भएको युथ प्रेसिडेन्ट संस्थाका प्रतिनिधि दुई दिने नेपाल भ्रमणमा आएका छन् । नेपाल सहित विश्वभरका १४२ देश सदस्य रहेको उक्त संस्थाको युथ प्रेसिडेन्ट सिंगापुरका ४० सदस्य दुई दिने भ्रमणमा आएका हुन् ।

भ्रमणका अवसरमा प्रतिनिधि मण्डलले नेपालमा रहेका संस्कृति, पर्यटनको संभावना, पूर्वाधार तथा वैदेशिक लगानीको बारेमा जानकारी लिनेछ । भ्रमणका अवसरमा उक्त प्रतिनिधि मण्डलले शुक्रबार उद्योगपति तथा सांसद बिनोद चौधरीसँग भेटघाट गरेको छ । सो भेटवार्तामा सम्बोधन गर्दै सांसद चौधरीले नेपाल प्राकृतिक रुपमा अत्यन्त धनी रहेपनि यसको व्यवस्थापन नहुँदा समस्या रहेको बताए । नेपालको संसदमा हाल युवाहरूको उपस्थिति बढेको र यसले आशाको संकेत गरेको भन्दै अब नेपालमा लगानीको वातावरण तयार भएको बताए । नेपाल प्राकृतिक तथा मेडिकल हब रहेको भन्दै उनले हाल संसदमा उपस्थित रहेका युवाहरूको संख्याले पनि नेपालको अबको भविष्य उज्वल रहेको बताए ।

प्रकाशित : फाल्गुन २६, २०७९ १७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×