यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन : चन्द

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले माओवादी नेताहरूलाई अपराधी बनाउन खोजिए इतिहास दोहोरिने चेतावनी दिएका छन् । उनले माओवादीलाई हत्यारा र अपराधी भन्नेलाई 'ठेगान लगाउने' चेतावनी पनि दिएका छन् ।

सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा आइतबार चन्दले माओवादी आन्दोलनप्रति पछिल्लो समय निर्माण गर्न खोजिएका भाष्य ठीक नभएको बताए ।
'अपराधी जो बनाउन खोजिएको छ र व्याख्या गर्न खोजिएको छ नि ती जनयुद्धमा भेटिएको भए त्यहाँ नै सिद्धिने थिए । यहाँ झुटलाई सत्य र सत्यलाई झुट बनाउन खोजिँदैछ,' उनले भने, 'यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने अधिकार छैन । माओवादीलाई अपराधी बनाउन खोज्यो भने इतिहास दोहोरिन्छ । यो कुराको हेक्का राख्नुपर्छ ।'
चन्दले सबै माओवादी एकजुट भएमा २०६० सालको माओवादी बन्ने बताए । उनले थपे, 'दोहोरिन्छ इतिहास । इतिहास दोहोरिने भनेको माओवादी एकीकृत बन्छ । फेरि जनमुक्ति सेना गठन हुन्छ ।' विगतमा शासन गर्नेहरूलाई ल्याएर जनताले मुक्ति नपाउने र त्यसो हुन नदिइने उनको भनाइ थियो ।
'आज यो सारा देश माओवादीले बिगार्यो, भत्कायो भन्छन् । भाषणैपिच्छे अपराधीहरू, लुटेराहरू, बजारमा त यो छ । प्रचण्डजी के गर्नुहुन्छ ? उहाँको कुरा तर मैले के भनेको छु भने माओवादीलाई अपराधी र हत्यारा भन्नेलाई ठेगान लगाउने तागत हामीसँग छ,' चन्दले भने, 'को हो हत्यारा नेपालमा ? अढाइ सय वर्षसम्म नेपालीलाई टाउकादेखि खुट्टासम्म चुसेर अर्बौं सम्पत्ति जोड्ने अपराधी हुन् कि जनताको अधिकारका लागि लड्ने अपराधी हुन् ?'
जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो उनीहरूलाई अपराधीको व्यवहार गरिएको भन्दै उनले आपत्ति जनाएका थिए । सम्मान्नित हुनुपर्ने मान्छे अपराधीजस्तो कठघरामा उभ्याइएको तर दण्डित गर्नुपर्ने मान्छेको हालिमुहाली चलिरहेको उनको गुनासो थियो ।
यस्तै माओवादी सशस्त्र विद्रोहका क्रममा महिला, किसानमाथि भएका राज्यको दमनबारे कोही नबोल्ने भन्दै चन्दले असन्तुष्टि जनाए ।
विगतमा आफ्नो पार्टीलाई प्रतिबन्ध लगाइएको तर अहिले राजतन्त्र ल्याउँछौं भनेर सडकमा निस्किनेलाई केही नगरिएकोप्रति पनि चन्दको आपत्ति थियो । यस क्रममा चन्दले सबै माओवादीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने भन्दै आह्वान गरेका थिए ।
प्रकाशित : फाल्गुन २१, २०७९ १७:०५