प्रेसलाई बदनाम गर्दा लोकतन्त्र नै खतरामा पर्छ : थापा- भिडियो - कान्तिपुर समाचार

प्रेसलाई बदनाम गर्दा लोकतन्त्र नै खतरामा पर्छ : थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले लोकतन्त्रमा प्रेस फ्रिडम र अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्त्व हुने बताए । ‘प्रेस यो व्यवस्थाको अभिन्न अंग हो । यसमा राम्रा अभ्यास पनि छन्, समस्या पनि छन् । २०६२/०६३ को आन्दोलनमा हामीले प्रेसलाई आठौँ दलको रुपमा पनि भन्थ्यौँ,’ उनले भने, ‘तर लोकतन्त्रलाई यहाँसम्म ल्याउने कुरामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका छ । म पनि भन्छु, नेपालको प्रेसले पनि आफ्नोभित्र प्रश्न गरोस्, सुधारहरू पनि गरोस् । तर, प्रेसलाई हामीले ब्ल्याङ्केट डिसक्रेडिट गर्‍यौँ भने त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छ ।’

उनले प्रेस र राजनीतिक दल, नेताका बीचमा एकले अर्काको सुधारको अपेक्षा गर्नु उपयुक्त हुने बताए ।

‘हामीले एकअर्कासँग सुधारको अपेक्षा गर्नु ठीक छ । तर‚ एकले अर्कालाई देखाइदिन्छु भनेर केही हुनेवाला छैन । कसैले केही लेख्यो भनेर पख्लास् भन्नुको अर्थ छैन । प्रेसको स्वतन्त्रता हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘प्रेसको फ्रिडमलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ । प्रेसको फेयर हामीलाई पनि हुनुहुँदैन, र हामीले पनि देखाउनुहुँदैन । विधिको शासनमा प्रेसको आफ्नै स्थान हुन्छ ।’

उनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको समेत आफ्नै स्थान हुने बताए ।

प्रकाशित : माघ २५, २०७९ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्

टर्कीका भूकम्पपीडितलाई जजिरा र टर्किसले राहत लगिदिने

कान्तिपुर संवाददाता

काठमाडौँ — टर्कीमा सोमबार गएको शक्तिशाली भूकम्पपछि खुला स्थानमा बसिरहेका त्यहाँका नागरिकहरुका लागि कुबेतको जजिरा र टर्कीको टर्किस एयरलायन्सले काठमाडौंमा संकलन हुने राहत सित्तैमा लैजाने भएका छन् ।

यी दुबै वायुसेवाका काठमाडौंस्थित कार्यालयले मानवीय सहायतका लागि नेपाली नागरिकहरुबाट संकलन हुने मेडिकल तथा अन्य राहत सामग्री सित्तैमा टर्कीसम्म ढुवानी गरिदिने भएका हुन् ।

जजिराको हात्तीसारस्थित जीएसए कार्यालयले नेपालको परराष्ट्र मन्त्रालयमार्फत संकलन हुने सबैखाले राहत सित्तैमा टर्की पुर्‍याइदिने भनेको छ । जजिराले हाल कुबेतबाट सातै दिन काठमाडौंमा उडान गर्दै आइरहेको छ । उसले नेपालमा संकलन हुने राहत कुबेत हुदै टर्की पुर्‍याइदिने जनाएको छ ।

त्यस्तै दरबारमार्गमा रहेको टर्किस एयरलायन्सले आफ्नो कार्यालयमा र नेपालमा रहेको आफ्नो मुलुकको अवैतनिक वाणिज्य दूताबासमार्फत संकलन हुने राहत सामाग्री नि:शुल्क टर्की पुर्‍याइदिने भनेको छ । टर्कीसले हाल सातामा सोमबार, मंगलबार, बिहीबार र शुक्रबार इस्तानबुल–काठमाडौं सिधा उडान गर्दै आइरहेको छ ।

टर्कीमा गएको भूकम्पका कारण हजारौंको मृत्यु हुनुका साथै ठूलो संख्यामा मानिसहरू सार्वजनिक तथा खुला सुरक्षित स्थानहरूमा आश्रय लिएर बसिरहेका छन् ।

प्रकाशित : माघ २५, २०७९ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×