फेरि राष्ट्रपतिबाटै संविधानको दुर्घटना गराइन्छ कि भन्ने डर छ : गगन थापा- भिडियो - कान्तिपुर समाचार

फेरि राष्ट्रपतिबाटै संविधानको दुर्घटना गराइन्छ कि भन्ने डर छ : गगन थापा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि पनि नेकपा एमालेबाटै राष्ट्रपति निर्वाचित भए संविधानलाई दुर्घटना गराइने डर रहेको बताएका छन् । एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई कांग्रेसले सकेसम्म हराउनकै लागि प्रयास गर्ने उनले बताए ।

बुधबार काठमाडौंमा भएको 'नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल' विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री थापाले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनाएर शीतल निवासबाट समानान्तर शक्ति अभ्यास गर्न चाहेको आरोप लगाए । ‘अहिले एमालेले आफ्नो कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो हुन्छ ? त्यसलाई सम्माननीय कठपुतली राष्ट्रपति भने हुन्छ । त्यस्ता राष्ट्रपतिले के–के गर्छन् भन्ने हामीले विगतमै देखिसकेका छौँ । त्यो राष्ट्रपतिले समानान्तर शक्तिका रूपमा अभ्यास गर्छ । संविधानले भनेको छ एकातिर, काम गर्छ अर्कोतिर । त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । त्यही डरले गर्दा हामी नेकपा एमालेले बनाएको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ, हराउन कोसिस गर्छौँ, अन्तिमसम्म हराउनकै लागि प्रयास गर्छौं । हराउँछौँ ।’

उनले अब फेरि संविधानमाथि राष्ट्रपतिबाट हुने जोखिमलाई कम गर्न कांग्रेस दत्तचित्त भएर लाग्ने बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका मञ्चहरू र सदनबाट समेत अदालतको निन्दा हुने गरी धारणा राखेको भन्दै त्यसले स्वतन्त्र न्यायपालिकाकाप्रति एमालेको धारणा के हो भन्ने प्रश्न उब्जिएको बताए ।

‘सम्मानित अदालतले गरेका कतिपय निर्णयहरू सबैलाई चित्त बुझ्दैन । अदालतको निर्णयको सन्दर्भमा छलफल भन्दा पनि अदालतको निन्दा गर्ने कुरा पार्टीको मञ्चबाट, संसद्‍बाट निरन्तर भइरहेको छ । अदालतप्रति नेकपा एमालेको धारणा के हो ? कि अदालतले कार्यकारीको धारणा बुझेर फैसला दिनुपर्ने हो ? भनेर सोध्न पाउने कि नपाउने ?,’ उनले भने, ‘अदालतको निर्णय ठीक कि बेठीक भनेर छलफल गर्नु र अदालतको निन्दा गर्नु फरक कुरा हुन् ।’

प्रकाशित : माघ २५, २०७९ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ । यसअघि बिहीबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको थियो ।

तर सभापति एवम् पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले बैठक स्थगित गरेका हुन् । तत्काल छलफल गर्नुपर्ने विषय नभएका कारण बैठक स्थगित भएको दलका पदाधिकारीहरुको भनाइ छ ।

यसअघि संसदीय कार्यसम्पादन समितिको बैठकबाटै प्रमुख सचेतक रमेश लेखकले बिहीबार दिउँसो दलको बैठक बस्ने तय भएको बताएका थिए ।




प्रकाशित : माघ २५, २०७९ १६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×