मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाउँछु : प्रधानमन्त्री- भिडियो - कान्तिपुर समाचार

मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाउँछु : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन् ।

आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने प्रतिवद्धत व्यक्त गरे ।

‘जनताको मौलिक अधिकार हो स्वास्थ्य सेवा प्राप्त गर्नु । राज्यको दायित्व हो त्यसलाई पूरा गर्नु । त्यो मौलिक अधिकारलाई व्यवहारमा उतार्नको लागि आवश्यक पर्ने ऐन अहिलेसम्म बन्न सकेका छैनन् । मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने विश्वास दिलाउन चाहन्छु,' उनले भने ।

उनले सातै प्रदेशमा विशेष अस्पतालहरुको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताए । 'यो पटक सातै प्रदेशमा विशेष अस्पतालहरुको निर्माणमार्फत र मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई मैले उच्च प्राथमिकतामा राखेको छु,' उनले भने, 'तपाईंहरु सबैको सहयोग भएमा हामी त्यसलाई पूरा गर्नसक्छौँ । त्यसले स्वास्थ्य क्षेत्रमा राम्रो परिवर्तनको संकेत जान्छ । यसलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकसित गर्न जरुरी भनिएको छ, प्रक्रियागत र व्यवहारिक जटिलता के कति छन् भन्नेकुरा मलाई सबै अध्ययन गर्नुपर्छ । यसलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गरी देशभर मुटु रोगको उपचारको निम्ति विकेन्द्रित रुपमा बनाउने सपनामा मेरो समर्थन छ ।’

प्रधानमन्त्री दाहालले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको बताए । उनले केही घटनाक्रमले समाज राज्यप्रति वितृष्णा पैदा हुन संकेत देखिएको बताए । कर्मचारी तन्त्रलाई व्यवस्थित गर्ने कुरामा पनि सरकारले जोड दिने बताए ।

प्रकाशित : माघ १५, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

रौतहटको शिवनगरमा फर्निचर मेला

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालिका २ स्थित जयनगरमा फर्निचर मेला लागेको छ । श्रीपञ्चमीको अवसर पारेर शुक्रबारबाट सुरु भएको मेलामा जिल्लाभरका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि राखिएको छ । फर्निचरका सामान हेर्न र खरिद गर्न सर्वसाधरणको भीड लागेको छ । मेला एक महिनासम्म लाग्ने छ ।

मेलामा भारतबाट समेत मानिसहरु समान हेर्न र खरिद गर्न आउने गर्छन् । एक सातादेखि नै ब्यापारीहरु आफ्नो उद्योगमा बनाइएका समानहरु राखेर बसेका थिए । बर्सेनि लाग्ने फर्निचर मेलामा विभिन्न जातका काठबाट बनाइएका दराज, कुर्सी, पलङ, टेबल तथा फलामका कृषि औजार राखिएको छ । मेलामा सर्वसाधारणको आकर्षण बढेको शिवनगरका समाजसेवी लालबाबु गिरिले बताए । ‘एक दशक बढीदेखि फर्निचर मेला लाग्दै आएको छ,’ उनले भने, ‘मधेस प्रदेशकै ठूलो मेलाले जिल्लाको शान बढाएको छ । मेलाको रौनक बेग्लै छ ।’

मेलामा सर्लाही, बारा र रौतहटका फर्निचर व्यावसायीहरु आउने गर्छन् । मुख्यगरी मेलामा काठबाट निर्मित फर्निचरको बिक्री हुन्छ । गाउँघरको काठ, प्लाईवुडको प्रयोगले बनेका अधिकांश फर्निचर बजारको तुलनामा मेलामा निकै सस्तो मूल्यमा प्रदान गरिने व्यवसायीको भनाइ छ । मेलाका फर्निचरहरु जनकपुर, पोखरा, काठमाडौ, वीरगंज, सर्लाही, र बारासम्म पुग्ने गरेको पाइएको छ । छिमेकी भारतको बैरगनियाका स्थानीय समेत फर्निचर खरिद गरेर लैजाने गरेको स्थानिय ब्यापारी रामभरोसा साहले बताए । ‘नेपालका साथै भारतीयहरु समेत आकर्षक फर्निचरका समानहरु खरिद गरि लैजान्छन्,’ उनले भने, ‘बजारका सोरुममा राखिएका फर्निचरभन्दा मेलामा निकै सस्तो मूल्यमा पाइन्छ, त्यसकारण भीड लाग्ने गरेको छ ’ मेलामा करिब २ करोडको कारोबार हुने व्यापारीको दाबी छ । मेलामा रौतहट लगायत बारा, पर्सा र सर्लाहीका लोहार जातिले फर्निचरका समान बनाएर ल्याएका छन् । मेलामा २ सय बढी व्यापारीहरु सहभागी छन् ।


प्रकाशित : माघ १५, २०७९ १७:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×