कफिनमा आए कमान्डर


काठमाडौँ — रुँदारुँदा उनका आँखा भासिएर गुफाजस्ता भएका थिए । शोक र भोकले अनुहार सुकेको थियो । ‘अब म कसरी बाँच्न्या होला !’ खैरो बाकस मंगलबार बिहान जब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्क्यो, लक्ष्मी कार्की छाँद हालेर चिच्याइन्, ‘क्या दिन देख्नुपर्यो नि आज मैले ।’

बाकसभित्र चिर निद्रामा थिए उनका ४० वर्षीय पति तिलकबहादुर कार्की । कुनै समय माओवादीको सेक्सन कमान्डर भएर देशै बदल्ने सपना देख्थे उनी तर त्यो सपनाले कहिल्यै मूर्तरूप लिएन । देश त के, आफ्नै दुःखी जिन्दगीलाई पनि तिलकले बदल्न सकेनन् । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रधानमन्त्री भइरहेका बेला उनकै एक कमान्डर भने कफिनमा ल्याइएका छन् ।
देशमा शान्ति आयो, अनेक राजनीतिक परिवर्तन भए तर जुम्ला तातोपानी–३ तिलाकोटका तिलक र उनीजस्ता भुइँमान्छेको जीवनमा त्यसले कुनै फरक पारेन । भूमिगत जीवनले बदल्न नसकेको आर्थिक अवस्थाका कारण युद्धकालमा पेटमा लागेको गोलीको छर्रा निकाल्नसमेत उनले सकेनन् । बुढा बाबुआमा, पत्नी, दुई छोरा र एक छोरीको एक्लो सहारा तिलक छर्राका कारण बेलाबेला दुख्ने पेट लिएरै गत वर्ष माघ ९ गते साउदी उडेका थिए । फलाम कम्पनीमा काम गर्ने उनी खाडीको गर्मीमा अहोरात्र खटिँदा महिनाको ३५ हजार रुपैयाँ पाउँथे । साउदी जान लागेको तीन लाख ऋण र त्यसको ब्याज तिर्नुका साथै परिवारको दैनिक खर्च पुर्याउनै उनलाई हम्मे थियो । कुनै दिन भाग्य फिर्ला भन्ने विचारले उनी काममा खटिइरहेकै थिए ।
पूरा पढ्न : गोलीको छर्रा बोकेर साउदी गएका लडाकु कमान्डर कफिनमा फर्किए