१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दैछ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली हुँदा पनि पछिल्लो समय पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले एउटा संस्कृतिलाई काखा र अर्कोलाई पाखा गर्दा यस्तो अवस्था आएको बताएका हुन् ।

पश्चिमा संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापित गर्दैछ : प्रधानमन्त्री दाहाल

२८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजना गरिएको सोनाम ल्होसार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले ल्होसार पर्व तामाङ जातिको मात्रै नभएर राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व भएको बताए ।

प्रधानमन्त्री दाहालले सबै संस्कृिलाई समान रूपमा हेर्नुपर्ने बताए । उनले भने, 'ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एंव वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व छन् । तर, विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरू लोप भएर जाँदैछन्। मानव सभ्यता मर्दैछ । अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ । यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।'

विश्वमा प्रचलित सभ्यताहरूको संगमस्थल नेपाल रहेको दाहालको भनाइ थियो । 'नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्,' उनले भने,'यहाँ बसोबास गर्ने सबै जातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रितिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’

ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो रहेको दाहालको भनाइ थियो । उनले मानव जातीले कृषिको सुरुवात गरेसँगै यो परम्पराको सुरुवात भएको बताए । 'यो ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो । यही पद्धति अंगालेर तामाङ सभ्यताले सूर्य दक्षिणबाट उत्तरतिर फर्कने छेका अर्थात् चन्द्र पात्रोको माघ शुक्ल प्रतिपदाको दिनदेखि नयाँ वर्ष सुरू हुन्छ भन्ने मान्दछ । कृषिको थालनीसँगै विकास भएकोले यो पर्वलाई सोनाम (किसानहरूको) ल्होछार पनि भन्छन्,’ उनले भने ।

तामाङ सभ्यता मानव र प्रकृतिको जीवनलाई बुझ्ने विज्ञान र दर्शन भएको दाहालको भनाइ थियो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्ने उनलेब ताए । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्व राख्ने उनको भनाइ थियो ।

राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने परम्पराको सुरुवात भएको पनि दाहालले बताए । त्यसका लागि सबैले योगदान दिनुपर्ने धारणा राखे । उनले माघ १५ देखि नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार प्रशारण गर्न गइरहेको र त्यसका लागि सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित : माघ ८, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?