जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी नीतिगत र व्यावहारिक निर्णय गर्छौं : प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै आगामी दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।


शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको 'राइट टु प्रोटिन रन हाफ म्याराथन' कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन् । प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताए ।
‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्ने कुरामा जोड गर्दै आएका छौं । नेपाल सरकारको तर्फबाट भइराखेका प्रयासहरु पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्यांकले देखाएको छ,' उनले भने, 'यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसायलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरुलाई उत्प्रेरित गर्छ । आत्मनिर्भरताको दिशातिर जानसक्छौं ।’ प्रधानमन्त्री दाहालले देश अहिले पोल्ट्री व्यवसायमा आत्मनिर्भर भएको बताए । उनले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिवद्ध रहेको बताए । ‘यतिबेला हामीले पोल्ट्री व्यवसायमा झन्डै आत्मनिर्भर भएका छौं । यो खुशीको कुरा हो । वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने गर्नुपर्छ, उनले भने, 'स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्दछ । यो क्षेत्रमा जनताको सेवाको लागि सरकारले गर्नुपर्ने काम धेरै छ । फेरि म तेस्रो कार्यकालमा जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यवहारिक निर्णय गर्दैछौं ।’