चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्रबहादुर केसीको प्रश्न : ठूला-ठूला कुरा गर्ने गृह र सहरीमन्त्रीको के छ रेकर्ड ?

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले सरकार बन्नुभन्दा अघि ठूला-ठूला कुरा गर्ने दल र सांसदका यथार्थ सरकार बनेपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताएका हुन् । 

लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षी हुने भए पनि प्रधानमन्त्रीको चुनावमा नाटक देखाएको केसीले बताए । उनले भने, 'संसद्‍मा सत्तापक्ष हुन्छ, प्रतिपक्षी हुन्छ । हामीले अन्त देखेको पनि त्यही हो, नेपालमा पनि पहिले देखेको त्यही हो । तर प्रधानमन्त्रीको चुनावमा नाटक देखियो ।'

त्यस्तै केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाण्डेप्रति इंगित गर्दै भने, 'सरकार बन्नुभन्दा अगाडि कस्ता-कस्ता ठूला-ठूला कुरा आएका थिए । सरकार बनेपछि कसको के छ रेकर्ड ? गृहमन्त्रीको के छ रेकर्ड ? सहरिया मन्त्रीको के छ रेकर्ड ?'

नेपालको लोकतन्त्र धराप परेको र यसलाई बचाउन आवश्यक रहेको उनले बताए । त्यस्तै चुनावमा गरिएका वाचा पनि दल र नेताहरूले बिर्सिएर गठबन्धन बनाएको उनको भनाइ छ । 'सत्ताका लागि इमानजमानको कुरा पनि नहुने,जनतासँग गरेका प्रतिबद्धताका कुरा पनि नहुने,' उनले भने ।

प्रकाशित : माघ ५, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्

वैदेशिक रोजगारीमा जाने ह्वात्तै बढे, मधेस प्रदेशबाट सबैभन्दा धेरै गए

कान्तिपुर संवाददाता

काठमाडौँ — केही महिनायता अर्थतन्त्रको वाह्य सूचकमा देखिएको सुधारको प्रमुख कारक रेमिट्यान्समा भएको वृद्धि हो । नेपालको अर्थतन्त्र रेमिट्यान्सले नै धानेको छ ।  राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि मंसिर महिनासम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । पोहोरको यहीं ५ महिनाको तुलनामा अहिले २३ प्रतिशतले रेमिट्यान्स बढेको हो ।

रेमिट्यान्स बढ्नुको प्रमुख कारण वैदेशिक रोजगारमा गएका नेपालीको संख्या बढ्नु रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै वैदेशिक रोजगारीका लागि नयाँ २ लाख ३६ हजार ७ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो संख्या ८०.६ प्रतिशतले बढेको हो । यहीं अन्तिम श्रम स्वीकृति लिएको संख्याले नै विदेशमा गएका नेपालीलाई जनाउँछ । नयाँ मात्रै नभई पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि उल्लेख्य बढेको छ ।

सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १६.४ प्रतिशतले बढेको तथ्यांक छ । ५ महिनामा १ लाख १५ हजार ९ सय ४८ जनाले यस्तो श्रम स्वीकृति लिएका छन् । प्रदेशगत रुपमा तुलना गर्दा मधेस प्रदेशबाट सबैभन्दा धेरै नागरिक वैदेशिक रोजगारीका लागि विदेसिएको देखिन्छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको तथ्यांक हेर्दा यस्तो देखिएको हो । गत आर्थिक वर्षमा यो प्रदेशबाट १ लाख ६९ हजार ५ सय २१ जनाले श्रम स्वीकृति लिएका छन् । यो गत आर्थिक वर्षमा लिइएको कुल श्रम स्वीकृतिको करिब २७ प्रतिशत हो ।

यस्तै, धेरै नागरिक वैदेशिक रोजगारीमा पठाउने प्रदेशमध्ये दोस्रो स्थानमा प्रदेश १ र तेस्रोमा लुम्बिनी प्रदेश रहेको छ । जसअनुसार गत आर्थिक वर्षमा श्रम स्वीकृित लिएका नेपालीमध्ये प्रदेश १ बाट करिब २१ प्रतिशत र लुम्बिनीबाट १८ प्रतिशत छन् । जिल्लागत रुपमा धनुषा जिल्लामा सबैभन्दा बढी ४१ हजार २ सय ९३ श्रम स्वीकृति जारी गरिएको छ । दक्षताको आधारमा तुलना गर्दा आर्थिक वर्ष ०७८/७९ मा जारी गरिएका कुल ६ लाख ३० हजार ९० श्रम स्वीकृतिमध्ये ४४.९ प्रतिशत श्रम स्वीकृति अदक्ष कामदारको लागि जारी गरिएको पाइएको छ । यसैगरी, ४६.३ प्रतिशत दक्ष कामदार र ८.६ प्रतिशत अर्धदक्ष कामदारले श्रम स्वीकृति लिएको पाइएको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : माघ ५, २०७९ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×