व्यवसायीलाई मन्त्री शर्माको आग्रह- 'अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस्'- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यवसायीलाई मन्त्री शर्माको आग्रह- 'अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग/व्यवसायमा लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार ‘फिन इलेक्ट्रो टेक-२०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी/व्यवसायीहरुका समस्या समाधान गर्न सरकार गम्भीर रहेको भन्दै उद्योगी/व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग, व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् ।

उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए ।

उनले मन्त्रिपरिषद्‌मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको बताए । मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले सडक रोज्न नहुने भन्दै सरकारले कुनै पनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताए । सरकार व्यवसायीहरुका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक रोज्न नहुने उनको भनाइ थियो ।

उनले बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताए । उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले 'निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ' जस्ता अभिव्यक्ति नदिन व्यवसायीहरुले आग्रह गरे ।

‘चुनाव सकिएको छ । पाँच वर्षका चुनावमा उठ्ने भए सडक आन्दोलन पछि गर्नुहोला । सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम होइन । अहिले व्यवसायीहरु उत्पादन व्यवसायमा लाग्नुस्,' उनले निर्देशनको शैलीमा भने, 'बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको छ । व्यवसायीहरुको समस्यालाई समाधान गरेर सहज बनाउने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको छ । समस्या समाधान गर्दै अर्थतन्त्रलाई बलियो बनाउने कुरा गर्नुपर्छ । निजी क्षेत्र निराश भयो, अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस् ।’

त्यस्तै मन्त्री शर्माले अब विद्युत् बेच्ने जमान नभएको भन्दै विद्युत्‌लाई हाइड्रोजन बनाएर तेल आयात गर्ने देशमा इन्धन निर्यात गर्ने देशमा पुर्‍याउने सरकारको लक्ष्य हुनुपर्ने बताए । संविधानले दिएका दिएका अधिकारलाई उपभोग गर्ने वातावरण बनाउन राष्ट्रको क्षमता वृद्धि गर्दै आर्थिक वृद्धि गर्न आवश्यक देखिएको उनले धारणा राखे ।

प्रकाशित : मंसिर २२, २०७९ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । नेपाल रक्तदाता संघको भगिनी संस्था क्लब २५ नेपाल र इन्टरनेसनल फेडेरेसन फर ब्लड डोनरको इन्टरनेसनल युथ कमिटीले 'अन्तर्राष्ट्रिय युवा मञ्च-२०२२' गर्न लागेका हुन् । कार्यक्रम लाजिम्पाटस्थित होटल मनास्लुमा हुनेछ ।

‘युवाहरू जीवन बचाउने, राम्रो भविष्यको निर्माण गर्ने कार्यमा युवाहरू’ भन्ने नाराका साथ मंसिर २३ देखि २६ गते (डिसेम्बर ९-१२) सम्म २० औं अन्तर्राष्ट्रिय युवा मञ्च आयोजना गर्न लागिएको क्लब २५ नेपालका अध्यक्ष आर्यन उप्रेतीले बताए । सम्मेलनमा १५ देशका करिब १५० जना सहभागी हुने जनाइएको छ ।

अध्यक्ष उप्रेतीकाअनुसार कार्यक्रम समापनपछि १२ देखि १६ डिसेम्बरसम्म वैकल्पिक पदयात्रा कार्यक्रम पनि हुने छ ।

अन्तर्राष्ट्रिय युवा मञ्च एक वार्षिक कार्यक्रम हो, जहाँ विश्वभरका युवाहरू भेला हुन्छन्, विचारहरू व्यक्त गर्छन् र आफ्नो ज्ञान तथा क्षमताहरू बढाउँछन् । यस वर्षको मूल विषयवस्तु 'युथ इन एक्सन : सेभिङ लाइभ्स; बिल्डिङ बेटर फ्युचर छ । कार्यक्रम युवा नेतृत्वलाई प्रवर्द्धन गर्न र विविध पृष्ठभूमिका युवाहरूका लागि समावेशी ठाउँ सिर्जना गर्नमा केन्द्रित हुने आयोजकले जनाएको छ ।

प्रकाशित : मंसिर २२, २०७९ १९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×