ज्यापु समुदायको कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्यापु समुदायको कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यापु समुदायको परम्परा, कलाकृति र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका छन् । बिहीबार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले ज्यापु समुदायको धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु साझा दायित्व भएको बताएका हुन् । 

प्रधानमन्त्री देउवाले ज्यापु समुदायका जात्रा, पर्व, सांस्कृतिक गतिविधिहरु, कला र कौशलहरु राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै त्यसको संरक्षण गर्नुपर्ने बताए। सम्पदा र

संस्कृतिहरुको जगेर्ना गर्नु सबैको कर्तव्य भएको उनको भनाइ छ । ‘काठमाडौं उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापु समुदायको, ज्यापु समाजको उल्लेखनीय योगदान छ । ज्यापु समुदायका जात्रा,पर्व, सांस्कृतिक गतिविधिहरु, कला, कौशल नेपालका अमूल्य निधि हुन् । ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, शिल्प र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो । यस्तो महत्वपूर्ण संस्कृति र सम्पदालाई संरक्षण गर्नु, विलिन हुनबाट जोगाउनु हाम्रो कर्तव्य हो । राष्ट्रिय ज्यापु दिवसको माध्यमबाट नेपालको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबै समक्ष उजागर गर्दै मुलुकको संस्कृति,परम्परा, रहनसहनलाई संवद्र्धन र प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने ।

उपत्यकाका ज्यापु समुदायले न्युनतम आर्थिक तथा नैतिक सुविधाका बीचमा पनि आफ्ना मौलिक परम्परा र संस्कृतिलाई बचाइराखेको भन्दै प्रधानमन्त्री देउवाले प्रशंसा गरे । सो समुदाय आफ्नै प्रकारको विशिष्ट र मौलिक पहिचान बोकेको मेहनती र इमान्दार समुदायको रुपमा परिचित रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए ।

प्रकाशित : मंसिर २२, २०७९ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्

मेलम्चीको पानी काठमाडौं उपत्यकामा शुक्रबारदेखि वितरण हुने

ऋषिराम पौड्याल

काठमाडौँ — मेलम्ची आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्ने भएको छ । सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो । 

मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी बिहीबार बेलुकी महाङ्कालस्थित रिजर्भ ट्याङ्कीमा पठाउने योजना रहेको छ । शुक्रबार बिहान पानी औपचारिक घर–घरको धारहरूमा पठाइनेछ । पानी सबै स्थानमा भने एकै पटक पठाइने छैन । सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ । ‘उपत्यकाको विभिन्न १० स्थानमा रहेको रजर्भ ट्याङ्कीमा पानी पठाउन करिब ७७ किमि पाइपबाट वितरण गर्नुपर्छ । कतै छिटो पुग्छ, कतै प्राविधिक समस्याले ढिलो पनि हुन सक्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘साताभित्र सबै धारामा सहज रुपमा पानी पुग्छ ।’ यसको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) ले गर्नेछ । उपत्यकाको आरुवारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायतका स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ ।

शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीको उपस्थितिमा पानी वितरण सुरु गर्ने जानकारी कार्यकारी निर्देशक श्रेष्ठले दिए । २०७८ असारको बाढीले क्षतविक्षत भएको मेलम्चीको हेडवर्क्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो । हेडवर्क्सलाई स्थायी संरचनाको रुपमा कसरी निर्माण गर्ने योजना बनिसकेको छैन । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याउने तयारी छ । यसपछि दोस्रो फेजमा सिन्धुपाल्चोककै याङ्ग्री र लोर्के खोलाबाट १७-१७ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ ।

प्रकाशित : मंसिर २२, २०७९ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×