संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत छ : उपमहासचिव गुरुङ

‘नेकपाको एकता जोगाउन नसक्दा निर्वाचनमा अपेक्षित परिणाम आएन’

काठमाडौँ — एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन् ।  सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत छ : उपमहासचिव गुरुङ

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए । मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क थियो । उनले संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेको दाबीसमेत गरे ।

उपमहासचिव गुरुङले भने, ‘म फेरि पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ । अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अब शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनु पर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आईरहेका जोखिमका कुराहरु, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं । त्यसकारणले राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरु सबैलाई हामीले एकजुट बनाउनु पर्दछ । त्यो दायित्व हामीसँग छ ।’

अब एमालेकै पहल र नेतृत्वमा सरकार बन्नुपर्ने पनि उपमहासचिव गुरुङको भनाइ छ । उनले भने, ‘नेकपा एमालेको नेतृत्वमा अवको सरकार बन्नु पर्छ । यो एमालेको पहलमा अवको सरकार बन्नु पर्छ । अवको पावर सेयरिङमा एमालेको महत्त्वपूर्ण भूमिका हुनुपर्छ । त्यो काममा हामीले सफलता प्राप्त गर्नुपर्छ । त्यसलाई गम्भिरतापूर्वक ग्रहण गरेर हामी सात वटै प्रदेशमा सरकार बनाउन सक्छौं । संघीय सरकार पनि बनाउन सक्छौं हामी । त्यो लक्ष्य पूरा गर्नका लागि दिनरात नभनी हाम्रो पहलकदमी सुरु हुनुपर्छ । हाम्रो सक्रियता सुरु हुनुपर्छ । हाम्रो सुझबुझ, दूरदर्शिता त्यही प्रकट हुनुपर्छ । हाम्रो योग्यता, क्षमता त्यही प्रकट हुनुपर्छ । त्यो पहलकदमी गरेर सार्थक निष्कर्षमा पुर्‍याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उपमहासचिव गुरुङले एमाले नेतृत्वको सरकार बनाउने कामलाई सार्थक निष्कर्षमा पुर्‍याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । नेकपाको एकतालाई जोगाउन नसकिएकै कारण आफ्नो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको समेत उनको भनाइ छ ।

प्रकाशित : मंसिर १६, २०७९ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?