गठबन्धनको सरकार बन्नुपर्छ, प्रधानमन्त्री को भन्ने शीर्ष नेताबाट निर्णय हुन्छ : शर्मा

बुटवल — नेकपा माओवादी केन्द्रकी नेता तथा दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रेखा शर्माले गठबन्धन दलको सरकार बन्न जरुरी रहेको तर को प्रधानमन्त्री बन्ने भन्ने गौण विषय रहेको बताएकी छन् । चुनावमा जनतासित गरेका वाचा पूरा गर्न र नागरिकमा दलप्रतिको विश्वास बढाउन पाँच दलीय गठबन्धनको सरकार बनाउन आवश्यक रहेको उनले बताइन् ।

गठबन्धनको सरकार बन्नुपर्छ, प्रधानमन्त्री को भन्ने शीर्ष नेताबाट निर्णय हुन्छ : शर्मा

रिपोटर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता शर्माले चुनावअघि नै गठबन्धन ठूला दलबीच आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति भएकाले पहिले कांग्रेस कि माओवादी केन्द्र भनेर बाहिर छलफल र चर्चा गर्नु बेकार रहेको बताइन् ।

‘को प्रधानमन्त्री हुने भनेर व्यक्ति व्यक्तिले भन्दै हिँड्ने विषय होइन, शीर्ष नेताहरु बसेर निर्णय गर्ने हो,’ उनले भनिन्, ‘शेरबहादुर वा प्रचण्ड को पहिला बन्ने भन्ने कुरा गठबन्धन दलहरुले नै निर्णय गर्ने छन् ।’ गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले प्रधानमन्त्री दाबी गर्नु स्वाभाविक रहेपनि दोस्रो ठूलो दलको हैसियतमा माओवादी केन्द्र समेत रहेको बिर्सन नहुने बताइन् ।

नेता शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहकार्य गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गरेको भन्ने प्रसंग उठाउँदै माओवादी केन्द्रले गठबन्धनमा कुनै घात गरेर बाहिर जाने मनसाय अहिलेसम्म नबनाएको बताइन् । ‘जनताको राजनीतिक दलप्रतिको वितृष्णा बढ्दो छ । दलको विकल्पका बारेमा छलफलहरु चलेका सुनिन्छन् । यस्तो बेलामा दलप्रति विश्वास जगाउन पनि गठबन्धनको सरकार आवश्यक छ,’ उनले भनिन्, ‘विश्वास गर्नुस् माओवादीले अन्तरघात गर्दैन ।’

नेता शर्माले राजनीतिक दलहरूले युवाहरूलाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिइन । उनले युवाहरूको जबर्जस्ती हस्तक्षेप भन्दा पनि नयाँ भिजन र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने बताइन् ।

पत्रकारहरूको प्रश्नमा शर्माले आफ्नो कठोर मेहनत, सरल र सामूहिक काम तथा गठबन्धनको विश्वासले एमाले महासचिव शंकर पोखरेललाई हराउन सकेको बताइन् । लुम्बिनी प्रदेशको राजधानी तोक्ने विषयमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वमा भएपनि माओवादीको समर्थन र अग्रसरताले सम्भव भएको बताउँदै पोखरेलले राजधानी आफू र एमालेले लगेको श्रेय लिएर जित्न खोज्नु गलत भएको बताइन् । नेता शर्माले अब बन्ने सरकारमा सहभागी हुने बताउँदै पार्टीले जुनसुकै मन्त्री दिए पनि स्वीकार्दै त्यसको जिम्मेवारी पूरा गर्न सक्षम रहेको दाबी गरिन् ।

प्रकाशित : मंसिर १६, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?