सुकुम्बासी बस्तीमा तनाव, प्रसूति गृहमा उकुसमुकुस- भिडियो - कान्तिपुर समाचार

सुकुम्बासी बस्तीमा तनाव, प्रसूति गृहमा उकुसमुकुस

दिपेन्द्र रोक्का, बुनु थारु

काठमाडौँ — सोमबार दिउँसो काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्तीका घरटहरा हटाउन आयो । थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिँदा त्यहाँको माहोल तनावग्रस्त बन्यो ।

प्रदर्शनकारीले नाराबाजी गर्दै टायर बाले । आन्दोलनस्थलनजिकै रहेका वनस्पति विभाग, प्रसूति गृह अस्पतालको वातावरण प्रभावित बन्यो । बाटोमा बालिएको टायरको धुवाँको मुस्लो परपरसम्म पनि फैलियो । आन्दोलनस्थलछेउमै छ प्रसूति तथा स्त्रीरोग अस्पतालको दोस्रो गेट । अस्पतालसम्म नाराबाजी चर्कै सुनिएको थियो । सबैभन्दा प्रभावित बन्यो अस्पतालको ‘एफ’ब्लक । आन्दोलनले अस्पतालमा रहेका सुत्केरी तथा गर्भवती महिला र नवजात शिशुलाई गम्भीर असर गरिरहेको बताउँछिन् प्रसूति पोस्ट–अपरेटिभ वार्डकी स्टाफ नर्स रक्षा राय दास । ‘आन्दोलनमा टायर बालेको बाल्यैछन् । धुवाँले हामीलाई त यहाँ गाह्रो भइरहेको छ । यो भवनमा आमा र बच्चा राख्ने वार्ड छ । बच्चा तथा आमाहरुलाई झन् गाह्रो भइहाल्छ नि । नवजात शिशु र आमालाई त्यसै त सामान्य श्वासप्रश्वासमा समस्या हुन्छ,’ उनले भनिन् । ढुंगामुढा तथा टायर बाल्न थालेपछि अस्पताल प्रशासनले बाटोतर्फका झ्याल लगाएको थियो । नर्स दास भन्छिन्, ‘झ्याल लगाए पनि रबरको गन्धसहितको पिरो धुँवाले आँखै पोलिरहेको छ ।’ अस्पतालका झ्यालबाट बाहिरको दृश्य हेर्दे बसिरहेका भेटिए मित्रपार्कका मीनप्रसाद दाहाल । श्रीमतीलाई पाठेघरको समस्या भएपछि ६ दिनदेखि उनी कुरुवा बसिरहेका छन् । उनले अस्पतालको छेवतिरै यसरी आन्दोलन हुँदा बिरामी प्रभावित बनेको बताए । उनले भने, ‘अस्पतालको छेउतिर त आन्दोलन नगरे पनि हुने हो । यहाँ त स–साना बच्चा पनि छन् ।’ त्यसैगरी दिलमाया मगर पनि आन्दोलनले बनाएको तनावग्रस्त स्थिति देखेर बिरामी कुरुवासँग गफिँदै थिइन् । उनले भनिन्, ‘मास्क नलगाई बस्न सकिएको छैन । टायरको त नराम्रो कालो खार आउँछ । दाउराको आगो र टायर बालेको त फरक हुन्छ नि । सरकारले पनि सबैको माग बुझिदिनुपर्ने हो ।’ अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. श्रीप्रसाद अधिकारीेले भन्छन्, ‘अस्पतालनजिकै त्यस्तो गर्न नहुने हो । धुँवाले नवजात शिशुमा असर गर्न सक्छ । यस्तो अवस्थामा तनावपूर्ण अवस्था हुँदा बिरामी तथा उनीहरूका आफन्तलाई पनि आवतजावतमा कठिनाइ भइरहेको छ । पछाडिको गेट पनि बन्द गर्नुपरेको छ ।’ छातीरोग विशेषज्ञ डा. निरज बमले टायरको धुँवामा विभिन्न प्रकारको रसायन मिसिने हुँदा यसले स्वास्थ्यमा गम्भीर समस्या पार्न सक्ने बताए । उनका अनुसार टायरमा कोल, टार, निकोटिन, आर्सेनिक, नाइट्रोजनडाइअक्साइड,रबर, सल्फ्युरिक एसिड र कार्बनको मात्रा एकदमै धेरै हुन्छ । ‘यसको धुँवाले श्वासप्रश्वासमा समस्या ल्याउने हुन्छ । चुरोटको धुँवाजस्तै यसले फोक्सो तथा यसको नलीमा कालो तह बनाएर बस्छ । आम मानिसलाई त गाह्रो हुन्छ नै, सुत्केरी महिला तथा बालबालिकालाई झनै असर गर्न सक्छ । धुँवाले खोकी लाग्ने, एलर्जी हुने,रुघाखोकी बढाउने, दम बढाउने, आँखा पोल्ने समस्या हुन सक्छ,’उनले भने ।

प्रकाशित : मंसिर १२, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्

एमालेद्वारा चार जिल्लाका केही केन्द्रमा पुन: मतदान माग

धनुषा र काभ्रेमा पुन: मतगणनाको माग ।
सुनसरी ४ मा रोकिएको मतगणना तत्काल सुरु गर्न माग ।
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुन: मतदानको माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुन: निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुन: मतदान गर्न माग गरेको हो । 

एमाले महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, निर्वाचन विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको थियो ।

'यस क्रममा आयोगले दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदानको आदेश भएको रहेछ । हाम्रो उम्मेदवारले माग गर्नुभएको अन्य कब्जा भएको स्थानहरू कालिन्चोक बेगुम्पा मतदान केन्द्र क र ख शैलुङ्ग गाउँपालिका वडा नं २ भूसाफेदा मतदान केन्द्रमा स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन नभएको हुँदा केन्द्रमा पुनः मतदानको आदेश गरिनुपर्छ,' एमालेको माग छ ।

त्यसैगरी स्याङ्जाको चापाकोट नगरपालिका वडा ३ दिसिङकोट आधारभूत मावि कमेरे, वडा नं ४ को राम मन्दिर मावि दार्सिङ्ग नरसेवा र सोही स्थानको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी र दिनदयालु आधारभूत विद्यालयका सबै मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले ती स्थानमा पुन: मतदानको माग गरेको हो ।

यी स्थानमा मृत्यु भएका र विदेशमा रहेका मतदाताको नामबाट पनि मतदान गराइएको एमालेको आरोप छ । ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा मतदान सम्पन्न गराउन एमालेले माग गरेको हो ।

यस्तै, एमालेले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ को त्रिभुवनेश्वरी मावि केन्द्र, सोही पालिकाको वडा नं ३ को मष्टेश्वरी आधारभूत विद्यालय, वडा नं ७ को नाटेश्वरी आधारभूत विद्यालय, वडा नं ८ को नवदुर्गा आधारभूत विद्यालय, खप्तडछेडा गाउँपालिका वडा २ को मालिका मावि मतदान केन्द्र, वडा नं ४ को फापरदेवस्थली मावि, बुढीगंगा नगरपालिका वडा ७ शारदा मावि मतदान केन्द्र, थमा मावि मतदान केन्द्र, वडा ८ को गिरिखेल्ने आधारभूत विद्यालय, बुढीनन्दा नगरपालिका वडा नं ५ को नन्देश्वरी मतदान केन्द्र, सोही वडाको घटाल आधारभूत विद्यालय, सोही पालिकाका वडा नं ९ को हिमाली आधारभूत विद्यालय, सोही पालिकाको वडा नं ५ को बागेश्वरी आधारभूत विद्यालय र सोही पालिकाको बढीमालिका मावि मतदान केन्द्रमा पुन: मतदानको माग गरिएको हो ।

'बुथ कब्जा गरेको, एमालेका प्रतिनिधि हटाएको र विपक्षी उम्मेदवारका प्रतिनिधिले फर्जी मतदान गरेको सम्बन्धमा बाजुरा जिल्लाका उम्मेदवारले निर्वाचन अधिकृतसमक्ष तत्काल निवेदन गरेको र ती स्थानमा स्वतन्त्र, निष्पक्ष र भयरहित तबरले मतदान सम्पन्न हुन नसकेको हुँदा केन्द्रमा पुनः मतदानको आदेश हुनुपर्छ,' एमालेले भनेको छ ।

यस्तै, एमालेले उदयपुर क्षेत्र नं. १ मा कतिपय मतदान केन्द्रमा अतिरिक्त मतपत्र गणनामा परेको र गणनाअघि भन्दा शंकास्पद अवस्थामा मतपेटिका फेला परेको भन्दै ती स्थानमा पनि पुनः मतदानको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

एमालेको आपत्तिपछि रोकिएको उदयपुरको गणना पुन: सुरु गर्न आयोगले निर्देशन दिएको छ । सो क्षेत्रमा एमाले उम्मेदवार मञ्जु चौधरी कांग्रेसका उम्मेदवार नारायण खड्काभन्दा पछि रहेकी छन् । एमालेले सुनसरी ४ को पनि मतगणना पुन: सुरु गर्ने माग गरेको छ ।

साथै थोरै मतले पराजित भएको प्रतिनिधिसभाको धनुषा क्षेत्र नं २ र वाग्मती प्रदेशसभाको काभ्रे १ (२) मा मतगणना गर्दा सदर हुनुपर्ने मत बदर गरिएको भन्दै एमालेले पुन: मतगणना गर्न माग गरेको छ । त्यसैगरी पाँचथरमा वसन्त नेम्वाङ विजयी भएको भन्दै उनलाई तुरुन्त प्रमाणपत्र दिनुपर्ने माग गरेको छ ।

प्रकाशित : मंसिर १२, २०७९ १९:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×