१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

चिवाभन्ज्याङमा होमस्टे

सीमा हेर्ने गरी राखिएको प्रशासन कार्यालय एक दिनको बाटो तल च्याङ्थापुमा छ, तैपनि एकान्तको यो ठिही बिन्दुमा उभिएर एक्लै होमस्टे चलाउने आँट गरेका छन् एक तन्नेरीले 
कान्तिपुर संवाददाता

पाँचथर — जिल्लाको सुदूर उत्तरी कुनोमा पर्छ– चिवाभन्ज्याङ । ३२ सय मिटरको उचाइको यो ठिही बिन्दुमा राज्यको उपस्थिति भनेको सशस्त्र प्रहरीको बोर्डर पोस्ट (बीओपी) छ कि हिमाल बेघाको होमस्टे । 

चिवाभन्ज्याङमा होमस्टे

याङवरक गाउँपालिकाले खुलाएको टेन्डरमा छानिएर स्थानीय फलैंचा गाउँका २८ वर्षे हिमाल बेघाले होमस्टे खोल्न पाएका हुन् । होमस्टे खोल्न पाएकामा उनी पनि स्थानीय तहको नियमनमा रहेका प्रतिनिधिझैं बनेका छन् ।

‘अब यता हिउँ पर्न थालेको छ, सीमापारिका पर्यटक यहाँसम्म आउन थालेका छन्,’ हिमाल भन्छन्, ‘नेपालतर्फबाट घुम्नेहरू फाट्टफुट्ट मात्रै आइपुग्छन् ।’ ६ महिनाअघि मात्रै खुलेको होमस्टेमा आउने पर्यटकले आफ्नै स्लिपिङ–ब्याग ल्याएका हुन्छन् । सुत्ने र खानाको शुल्क भने दुई थरी हुन्छ– भारु वा नेरु । नेपाली पर्यटकले खाना खाएको २५० नेरु, भारतीयलाई २५० भारु । यस्तै, सुतेकोमा पनि नेपालीका लागि कोठाको ५ सय नेरु, भारतीयलाई ५ सय भारु ।

चिवाभन्ज्याङको यो सीमावर्ती बिन्दुबाट सिक्किमको उत्तरे बजार २३ किलोमिटर टाढा पर्छ । सीमापारिको बिन्दुमा भारतीय सशस्त्र सीमा बल, सिक्किम प्रहरी र वन कार्यालयका स्थायी अड्डा रहिआएका छन् । पारिपट्टि बिजुली, फोनको समस्या छैन । वारि चिवाभन्ज्याङतिर तेर्सिएपछि भने फोनको नेटवर्क खोज्न अलिक अग्लो पहरा वा पर्तिर पानीभित्ताको पहरोमा पुग्नैपर्छ ।

‘होमस्टेका लागि १ लाख ३० हजार रुपैयाँको टेन्डरमा मैले पाएको हुँ, गाउँपालिकाले यो घर बनाइदिएको हो,’ १२ कक्षासम्म पढेका हिमालले सुनाए, ‘अब ३ वर्षसम्म मैले यहाँ होमस्टे चलाउन पाएको छु । त्यतिन्जेलमा कसो चहलपहल नबढ्ला भनेर आँट गरेको हुँ ।’ पर्यटकको माग रहेमा आसपासका भेडीगोठमा गएर भेडा–च्यांग्राको मासु खोजेर ल्याउने वा चौंरीगोठसम्म पुगेर दूध ल्याउने काममा उनी खटिन्छन्, तर यसका लागि भने आगन्तुकले केही समय पर्खनैपर्ने हुन्छ ।

चिवाभन्ज्याङ सीमा हेर्ने गरी राखिएको सीमा प्रशासन कार्यालय पनि यो बिन्दुबाट एक दिनको बाटो तल च्याङ्थापुमा छ । प्रहरी–प्रशासनका अरू उपस्थिति पनि च्याङ्थापुसम्म मात्रै छ । तैपनि तन्नेरी हिमालले यो एकान्तको बिन्दुमा उभिएर एक्लै होमस्टे चलाउने आँट गरेका छन् ।

प्रकाशित : कार्तिक १५, २०७९ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?