संघर्षशील शर्मिला तामाङको कथा


काठमाडौँ — काठमाडौं महानगरपालिकाले ठेला जफत गरेपछि महानगरकै गाडीमाथि आफ्नो ठेला समातेरै शर्मिला तामाङ बिहीबार महानगर प्रहरीको ब्यारेकसम्म पुगिन् । ठेला र्फिता गरिदिन्छन् कि भन्ने झिनो आशले रोइकराइ गरिन् तर महानगर प्रहरीले जफत गरेको ठेला फिर्ता गरेन ।

महानगरीय प्रहरी बलका नगर उपरीक्षक राजुनाथ पाण्डेका अनुसार नियन्त्रणमा लिइएका ठेला स्वत: लिलामी प्रकियामा जाने र कुहिने सामानहरूलाई भने जरिवाना तिरायर छाड्ने गरिएको छ । 'शर्मिला तामाङको केसमा भने निम्न आय भन्ने विषय नै होइन । सडकपेटी, फुटपाथ अतिक्रमणको विषय हो र उहाँहरूलाई पटक-पटक सम्झाउँदा पनि नमानेपछि त्यस्तो भएको हो । हामी नियम कानुनको परिधिभित्र रहेर हामी काम गर्ने हो, हामीलाई यस्तो भावनात्मक कुरा गरेर कुनै अर्थ पनि राख्दैन,' उनी भन्छन् ।शर्मिला भने आफ्नो ठेलालाई डोजरले कुल्चिदिएपछि थापाथलीकै नदी किनारमा रहेको पौरखी बस्तीमा फर्किइन् । शर्मिला यही बस्तीमा रहेको आफ्नो फुपूको टहरामा बस्दै आइरहेकी छिन् । शुक्रबार दिउँसो बस्तीमा पुग्दा उनी, उनका श्रीमान् र २ वर्षीय बच्चा खाना खाँदै गरेका भेटिए । कोठामा एउटा खाट, ग्यास र पसलका थोरै सामानहरू थिए । बस्तीमा अधिकांशलाई डेंगी भएको थियो । उनका श्रीमान् पनि यसबाट अछुतो रहन सकेनन् ।
उनका श्रीमान् प्राय: लमजुङमै ज्यामी काम गर्दै आएका छन् । उनी कहिलेकाहीँ भने काठमाडौं आउने गरेका छन् । २०५९ सालमा सुन्दर भविष्यको कल्पनामा दम्पती काठमाडौं छिरेका थिए । लमजुङमा उनीहरूको घर मात्र छ बारी छैन, खेतीकिसानी गर्न गाह्रो छ। उनका श्रीमान्ले काम गरेर पाउनुपर्ने पैसा पनि अझै पाएका छैनन् ।
श्रीमान्को कमाइ नभएपछि घर धान्ने सम्पूर्ण जिम्मा शर्मिलाको काँधमा आइपुग्यो । श्रीमान् लमजुङ नै फर्किए । सुरु-सुरूमा अरुको घरमा काम गर्न बसेकी थिइन् । त्यसैक्रममा माइतीबाट काठमाडौं फर्किने क्रममा दुर्घटनामा परिन् । उनको दाहिने काँधमा स्टिल लगाउनुपर्ने भयो । त्यसपछि उनले घरको काम गर्न सकिनन् ।श्रीमान्को कमाइ नभएपछि घर धान्ने सम्पूर्ण जिम्मा शर्मिलाको काँधमा आइपुग्यो । श्रीमान् लमजुङ नै फर्किए । सुरु-सुरूमा अरुको घरमा काम गर्न बसेकी थिइन् । त्यसैक्रममा माइतीबाट काठमाडौं फर्किने क्रममा दुर्घटनामा परिन् । उनको दाहिने काँधमा स्टिल लगाउनुपर्ने भयो । त्यसपछि उनले घरको काम गर्न सकिनन् ।
अस्पतालले १ वर्षमा निकाल्नुपर्छ भनेको स्टिल साढे २ वर्ष हुन लाग्दा पनि अझै पनि उनको काँधमै छ । आर्थिक स्थिति कमजोर भएपछि हातको दुखाइ सहेरै भए पनि सुरु-सुरुमा छोरालाई बोकेरै नाङ्लो पसल खोलिन् । पछि त्यतैका स्थानीय दलबहादुर कामीले उनलाई अन्यको सहयोगमा ठेला मिलाइदिएका थिए । ठेला पाएपछि उनी खुसी थिइन् । बिहान ४ बजे बच्चा बोकेर कालिमाटी जान्थिन् । सामान ल्याएर पसल जान्थिन् । दुई छाक खानलाई गाह्रो थिएन । 'आफ्नो गरिखाने भाँडो नै त्यही थियो, त्यही पनि गयो,' उनी भन्छिन् ।
महानगरले सडक व्यापारमाथि कडाइ गरेपछि अब के गर्ने भन्ने दोधारमा छिन् उनी । 'म त आधा पेट खाएर बसूँला तर यो बच्चाको पेट कसरी भर्ने ?,' उनी भन्छिन्, 'सडकमा बस्ने रहर होइन, सटर लिएर बस्न सक्ने भएको भए सडकमा किन बस्थेँ र ?' मजबुरीले नै आफूलाई सडकमा ल्याएको उनको भनाइ छ । 'हामीजस्तै बाध्यताले सडकमा आएको भए पो थाहा हुन्छ; संघर्ष के हो ? दुःख के हो ?,' उनी भन्छिन् । महानगरले माइकिङ नै गरेको पनि आफूलाई थाहा नभएको उनले बताइन् । 'मलाई फोन चलाउन आउँदैन, आफूसँग यस्तो हुन्छ भनेर थाहा थिएन,' उनी भन्छिन्, 'सडकमा आर्थिक स्थिति राम्रो हुने/नहुने दुवै छन् । हुनेलाई कहाँ राख्ने नहुनेलाई कहाँ राख्ने सरकारले सोचिदिएको भए हुन्थ्यो ।'
कान्तिपुरमा उनको तस्बिर र समाचार प्रकाशित भएपछि केही मनकारी व्यक्तिले आर्थिक सहयोग गरेका छन् । शनिबारसम्म उनले १ लाख ३५ हजार आर्थिक सहयोग प्राप्त गरिसकेकी छिन् । त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पनि एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । मेयर राईले सामाजिक सञ्जालमार्फत सहयोगको घोषणा गरेका हुन् ।
थोरै नै भए पनि सहयोग प्राप्त भएपछि उनलाई केही राहत महसुस भएको छ । उनी भन्छिन्, 'अब सकियो भने सटर लिएर व्यापार गर्छु ।' आफूलाई जस्तो पीडा अरु ठेला व्यापारीहरूलाई नपरोस् भन्ने उनको चाहना छ ।