कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

दसैंमा टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र

कान्तिपुर संवाददाता

नेपालगन्ज — डोल्पाका चन्द्रखर बुढा दुई हप्तादेखि नेपालगन्ज विमानस्थलको होटलमा बसिरहेका छन् । उपचारका लागि काठमाडौं गएका उनी नेपालगन्ज हुँदै डोल्पा जान आएका हुन् । तर‚ अहिलेसम्म टिकट पाएका छैनन् । दैनिक टिकटका लागि हारगुहार गरे पनि आफूले टिकट पाउन नसकेको उनले बताए ।

दसैंमा टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र

‘न त हाम्रा नेता छन् । न हामीले भनेको कसैले मान्छन्‚’ उनले भने, ‘उपचार खर्च र होटल खर्चमै पैसा सकियो; अझै घर जाने ठेगान छैन ।’ बुढा दसैं मान्न घर जाँदैछन्। जहाजको टिकट नपाएपछि उनी विमानस्थल नजिकैको होटलमा बसिरहेका छन् ।कर्णालीका मान्छेले चाडबाडमा दु:ख पाएपछि नेपालगन्ज विमानस्थलमै एक–एकवटा जहाज राख्नुपर्ने नियम बनाइएको थियो । तर‚ यो नियम हटाइएपछि एयरलायन्सहरूले मनोमानी गर्दै आएका छन् । हुम्लाका दागि टिकट नपाएका दीपक भण्डारी विमानस्थल बाहिरै बसिरहेका छन् । विमानस्थलभित्र प्रवेश गर्न नदिएपछि बाहिर बसेर टिकटका लागि पर्खिरहेको उनले बताए । ‘हामीलाई भित्र पस्न दिँदैनन्; बाहिर टिकट बिक्री गर्दैनन्‚’ उनले भने, ‘हामी १५ दिनदेखि अलपत्र परिरहेका छौं । हिजो काठमाडौंबाट आएका जनप्रतिनिधिलाई आजै उडाइयो ।’ सर्वसाधारणलाई टिकट छैन भन्ने गरेको समिट एयरलायन्सले सोमबार १८ जनालाई हुम्ला उडाएको उनले सुनाए । उनका अनुसार हुम्ला जानका लागि ४० जना यात्रु नेपालगन्जमा अलपत्र अवस्थामा छन् । नेपालगन्ज विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा समिट, तारा र सीता एयरले जहाज पठाउने गरेका छन् । समिट र सीताका चार-चारवटा र ताराका तीनवटा विमान छन् । अरू बेला नेपालगन्जमै बस्ने यी एयरका जहाज यतिबेला पर्यटक बोक्न पोखरातिर छन् । अहिले हप्तामा दुईवटा विमान आएर उडान गरिरहेका छन् । पोखरा–जोमसोङतिर पर्यटक बोक्नु नै उनीहरूको प्राथमिकताको विषय बनेको छ । समिटका चारवटामध्ये एउटा जहाज नेपालगन्जमै बसिरहेको छ । अहिले समिटले कर्णालीमा हप्तामा दैनिक ५ वटा उडान गरिरहेको छ ।सीता एयरका चारवटै विमान यहा छैनन् । सीताको तीनवटा विमान बिग्रिएको छ । एउटा चालु अवस्थामा भए पनि नेपालगन्जमा छैन । नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालले भएका तीनवटै जहाजको नेपालगन्जमा बेस नहुँदा यात्रुले चाडबाडमा सास्ती बेहोर्नुपरेको बताए । कर्णालीमा पर्यटक जाने सिजनमा नेपालगन्जमा थुप्रिने जहाज दसैंको बेलामा अन्यत्र गएपछि कर्णालीका मानिस आक्रोशित छन् । टिकट नपाएर अलपत्र भएका यात्रुहरूले विमानस्थलमा प्रवेश गरी सोमबार काउन्टर चेक गर्न नदिएपछि प्रहरीले उनीहरूलाई विमानस्थलमा प्रवेश गर्नसमेत दिएको छैन ।

प्रकाशित : आश्विन १७, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?