रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।

रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए । राप्रपामा हाल ६ उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ । २०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए । सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए । त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

प्रकाशित : आश्विन १२, २०७९ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?