समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत तयार भएको हो : कांग्रेस प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत रुपमा तयार भएको बताएको छ । मंगलबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानुपातिक उम्मेदवार सर्वसम्मत चयन भएको भन्दै एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा सत्यता नभएको बताएका हुन् ।

समानुपातिक उम्मेदवारको सूची सर्वसम्मत तयार भएको हो : कांग्रेस प्रवक्ता

‘समानुपातिक उम्मेवार सर्वसम्मत चयन भएका हुन् । एकलौटी भयो भन्ने कुरामा कुनै सत्यता छैन । कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार भएको छैन‚’ उनले भने‚ ‘विधानअनुसार तयार भएको सूची हो । आन्दोलनको कुरा वाञ्छनीय छैन । सबै निर्णय सहमतिमा भएको निर्णय हो । केही त्रुटि छन्; ती सच्याइन्छ।’

गठबन्धनका दलहरूसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरू प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेको भन्दै प्रधानमन्त्री नै पार्टी सभापति भएको र अन्य मन्त्रीहरू समेत पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको र पार्टीको पक्षमा जनमत बनाउन हिँड्न नपाउने आचारसंहिताको विषय व्यावहारिक नभएको बताए ।

‘प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् । प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ । मन्त्रीहरू पनि पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौं ।’

चुनावपछि संघ र प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने भन्दै उनले काठमाडौँ आएका कार्यकर्तालाई जिल्ला फर्किएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका छन् ।

कोइराला समूहले गरिरहेको गतिविधि उपयुक्त नभएको भन्दै प्रवक्ता महतले देशभरिका कांग्रेस कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् । ‘सबै नेताहरू बसेर गरेको निर्णय हो । निर्णय गर्ने नेताहरूको चित्त बुझेको छ। उहाँहरू केही बोल्नु भएको छैन‚’कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापालगायत नेताहरूलाई लक्षित गर्दै उनले भने‚ ‘बहुमतबाट भएको निर्णय होइन; सर्वसम्मत निर्णय हो । पार्टीमा निर्णय गर्ने ठाउँमा हामीमात्रै होइन‚ उहाँहरू पनि हुनुहुन्छ ।’

प्रकाशित : आश्विन ११, २०७९ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?