पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या, १ जना घाइते- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पितृ खुसी नभएको भन्दै रामेछापमा वृद्धाको हत्या, १ जना घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको खाँडादेवी गाउँपालिका-३, भिरापानी, सित्खामा माझी समुदायका पितृ खुसी नभएको भन्दै आइतबार एक वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । अर्की १ वृद्धा गम्भिर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मारिनेमा स्थानीय अन्दाजी ५५ वर्षीया विबी माझी छन् । उनकी आमा ७० वर्षीया सुनमाया माझी घाइते छिन् । घाइतेको उद्धार गरी मन्थली अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । मृतक र घाइते आमा छोरी हुन् ।

माझी समुदायको सोह्रश्राद्ध सबैभन्दा ठूलो चाडपर्व हो । उक्त पर्वमा माझी समुदायले पितृलाई घाटमा गएर बोलाउने गर्छन् । बोलाउँदा कसैको आङमा पितृ आउने कुरा उनीहरुको विश्वास छ । पितृ आएपछि परिवारका कुनै सदस्य काम्न थाल्छन् । कोही काम्न थाल्यो भने पितृ उसको आङमा आएको विश्वास हुन्छ । त्यसपछि घर आउँछन् । भोलिपल्ट आदर सत्कारसहित एक दिन पितृ पाल्छन् र पर्सिपल्ट बिहानै घाटमा लगेर विधिपूर्वक पितृ नदीमा बगाउँछन् । नदीमा पितृ बगाएपछि सोह्रश्राद्ध सकिन्छ ।

यस प्रकारको कर्म गरेपछि पितृ खुसी हुने विश्वास छ । कम्पन आउनेहरु त्यसपछि काम्न छोड्छन् । तर यो वर्ष काम्ने प्रक्रिया रोकिएन । शनिबार सोह्रश्राद्ध सकेका माझी समुदायका केही युवा युवतीहरु पितृ बगाउँदा अर्थात् तिथि सकिँदा पनि काम्न नछोडेपछि माझीहरुको निष्कर्ष रह्यो– यो वर्ष पितृ खुसी भएनन् । त्यसपछि गाउँकी विबी माझीका कारण पितृ खुसी नभएको अनुमान लगाएर काम्नेसहितका युवा युवतीहरु उनको घरमा पुगे । विबीको घरमा आमाछोरीमात्र थिए । गाउँलेले पहिलेदेखि नै विबीलाई बोक्सीको आरोप लगाउँदै आएका थिए । काम्दै पुगेका युवायुवतीले विबीकै कारण पितृ खुसी नभएको भन्दै उनलाई कुटपिट गर्न थाले । अक्षताले हान्दै कुटपिट गरे । त्यही बेलामा एउटा बिरालो आइपुग्यो । माझीहरुले बिरालोलाई पनि काटे । बिरालो काटे पछि पोलियो । उता बिवी पनि मरिन् । बोक्सी बिरालोमा उत्रिएको र बिरालो काटेपछि विबि मरेको निष्कर्ष त्यसबेला उनीहरुले निकाले । छोरी मरेपछि आमालाई घरअघिको आँगनमा निकालियो । घर वरीपरी कोही आउन दिइएन । घटनास्थल कब्जामा पारेर ७० वर्षीया सुनमायालाई कुटपिट गर्दै गरेको अवस्थामा उद्धारका लागि आसपासका बासिन्दा पुगे । तर उद्धार गर्न सकेनन् । त्यसपछि प्रहरीलाई खबर गरियो । सुरुमा प्रहरीले पनि सकेन । दोस्रो प्रयासमा सादा पोसाकमा हतियारसहित पुगेको प्रहरीले सुनमायालाई उद्धार गर्‍यो । घटनास्थलबाटै १८ जना नियन्त्रणमा लियो । सोमबार थप ४ जना नियन्त्रणमा लिई जिल्ला सदरमुकाम पुर्‍याइयो ।

प्रकाशित : आश्विन १०, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्

मनास्लुमा कम्तीमा १३ जना बेपत्ता, उद्धार उडानमा समस्या [अपडेट]

एक जना नेपाली सख्त घाइते
अमेरिकी स्कीआरोही हिलारी मनास्लुमा बेपत्ता 
सुरज कुँवर

काठमाडौँ — मनास्लु हिमालमा सोमबार बिहान गएको हिमपहिरोमा नेपाली शेर्पासहित कम्तीमा १३ जना बेपत्ता भएका छन् । ८ हजार १ सय ६३ मिटर उचाईको उक्त हिमालको ४८ सय मिटर उचाईमा रहेको आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्स प्रालिका निर्देशक छाङ दावा शेर्पाका अनुसार, दिउँसो गएको हिमपहिरोमा खराब मौसमका कारण उद्धारमा कठिनाइ भइरहेको छ । 

छाङदावाका अनुसार, हेलि एभरेष्ट, कैलास हेलिकप्टर र सिम्रिक एयरका तीनवटा बीथ्रीई हेलिकप्टर गोरखाको उत्तरी गाउँ सामामा उद्धारका लागि काठमाडौंबाट पुगिसकेका छन् । सेभेन समिटका दुई आरोहण दल सदस्यसहित चार जनालाई घटनास्थलबाट उद्धार गर्नुपर्ने छ ।

उक्त हिमालको ६ हजार ८ सय मिटर उचाईको तेस्रो शिविरदेखि ७ हजार ४ सय ५० मिटर उचाइमा रहेको चौथो शिविरमा बन्दोबस्तीका सामग्री ओसार्ने क्रममा रहेका शेर्पा तथा आरोहीहरु हिमपहिरोमा परेका हुन् ।

हिमपहिरोमा काठमाडौंको सातुरी एडभेन्चरका तीन जना शेर्पा घाइते भएको कम्पनीका प्रबन्ध निर्देशक ऋषिराम भण्डारीले कान्तिपुरलाई बताए । उनका अनुसार, उक्त कम्पनीका गाइड अनुप राईको अवस्था सख्त घाइते छ । ‘घाइतेहरुलाई उद्धारको खाँचो छ । अनुप बेहोस छन् । तीनवटा हेलिकप्टर मनास्लु हिमालको आधार शिविर आसपासमा छन् । मौसम सफा हुनेबित्तिकै घाइतेहरुलाई उद्धार गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

आधार शिविरदेखि ४ घन्टा दुरीमा रहेको सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत तथा आरोहण दल सम्पर्क अधिकृत यशोदा अर्यालका अनुसार, हिमपहिरोबाट भएको क्षतिबारे एकिन जानकारी अझै प्राप्त हुन सकेको छैन । ‘हिउँ परिरहेको छ । दुइटा हेलिकप्टर सामागाउँमा उद्धारका लागि तयारी अवस्थामा छन् । अहिले यहाँबाट आधार शिविरमा हिउँ परेको देखिरहेको छ,’ उनले कान्तिपुरसँग भनिन् । उनका अनुसार, अर्को हेलिकप्टर नजिकैको नाम्जुङतर्फ गएको छ ।

अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन बेपत्ता

यसैबीच प्रख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सन मनास्लुमा स्की गर्नेक्रममा बेपत्ता भएकी छन् । काठमाडौंको सांग्रीला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेका अनुसार उनीसँगै स्की गर्न गएका जीम म्यारिसन भने आधार शिविरमा फर्किसकेका छन् । ‘जीम सकुशल आधार शिविर फर्किसके । हिलारी मनाङतर्फ पर्ने भीमथाङतर्फ हराइरहेकी छन्,’ प्रबन्ध निर्देशक घिमिरेले कान्तिपुरसँग भने । उनले आफ्नो कम्पनीबाट शरदकालीन मनास्लु आरोहणमा गएका अन्य सदस्य तथा शेर्पाहरु सकुशल रहेको बताए ।

प्रकाशित : आश्विन १०, २०७९ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×