२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राष्ट्रपतिको अपमान गर्नुलाई सत्तारुढ गठबन्धनले आफ्नो महानता ठानेको छ : ओली

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा सत्तारुढ गठबन्धनबाट आएको प्रतिक्रियाको आलोचना गरेका छन् । उनले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना गरेर अपमान गरेको पनि ओलीको आरोप थियो ।

राष्ट्रपतिको अपमान गर्नुलाई सत्तारुढ गठबन्धनले आफ्नो महानता ठानेको छ : ओली

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ओलीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गर्ने कुरा गर्नु ठीक नभएको बताए ।सत्तारुढ गठबन्धनले जनतालाई अल्मल्याइरहेको र मस्तिष्कबाट नभई 'मसल' बाट चलेको पनि उनको आरोप थियो । 'राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (आफ्नै पाखुरा सुर्क्याउँदै) उहाँहरूको त्यस्तो विचार छ । बाहिर बसेर, अनाडी मान्छे भेला भएर, अनधिकृत ठाउँमा, संविधानले नचिनेका मान्छे बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो,' ओलीले भने, 'असभ्यता, कुसंस्कार, अलोकतान्त्रिक संस्कारको निर्लज्ज प्रयोग यो गठबन्धनले गरिरहेको छ । यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नु ठानेको छ ।' ओलीले राष्ट्रपतिलाई कुन विधेयक संसद्‍मा लैजाने भन्नेबारे पहिल्यै जानकारी गराउनुपर्ने संवैधानिक व्यवस्था उल्लंघन गरेको पनि आरोप लगाए । संविधानको धारा ८१ मा राष्ट्रपतिलाई विधेयक, वैदेशिक मामिला लगायतका विषयमा जानकारी गराउनुपर्ने व्यवस्था छ । 'मैले संसद्‍मा १ वर्षअगाडि नै बोल्दा भनेको थिए संविधानको धारा ८१ तर्फ ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस् । संविधानले विधेयकहरू संसद्‍मा पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ, स्वीकृत गर्नुपर्छ । राष्ट्रपतिलाई ब्रिफिङ गर्नुपर्छ,' उनले भने । सरकारले संविधानको उक्त व्यवस्था पालना नगरेको ओलीको दाबी छ ।

प्रकाशित : आश्विन ६, २०७९ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?