ओलीले विस्तृत शान्ति सम्झौता भएकै होइनजसरी दिउँसै रात पार्ने काम गरेका छन् : दाहाल

'विस्तृत शान्ति सम्झौता हस्ताक्षर गर्ने बेलामा केपी ओली र माधवकुमार नेपाल मञ्चमै साक्षी थिए । अहिले केपी ओली र उनको गुटले विस्तृत शान्ति सम्झौता भएकै होइनजसरी दिउँसै रात पार्ने काम गरिरहेका छन् ।'

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायका विषयमा माओवादीलाई मात्र दोषी देखाउने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार वैचारिक राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाविपरीत षड्यन्त्र भइरहेको बताएका हुन् ।

ओलीले विस्तृत शान्ति सम्झौता भएकै होइनजसरी दिउँसै रात पार्ने काम गरेका छन् : दाहाल

एमाले अध्यक्ष केपी ओलीले विस्तृत शान्ति सम्झौता र १२ बुँदे समझदारी नै नभएको जसरी माओवादीलाई पीडकका रूपमा प्रस्तुत गर्न खोजेको दाहालले बताएका छन् ।

दाहालले भने, 'अहिले एकथरीले माओवादी विद्रोहमा परेका मात्रै पीडित हुन् भन्ने गरेका छन् ।विस्तृत शान्ति सम्झौताको समर्थक होइन, सहमत होइन भन्याजस्तो गरी तर्क गरेका छन् । विस्तृत शान्ति सम्झौताको भावना र मर्मभन्दा बाहिर गएर माओवादीचाहिँ अपराधी वा आतंककारी हो वा पीडक हो अरुचाहिँ कोही नि होइनन् भन्ने गरी तर्क गरिएको छ । माओवादीलाई मात्र ठेगान लगाउने गरी विधेयक ल्याउनुपर्छ भनेर तर्क गरेका छन् ।'

२०६३ साल मंसिर ५ गते सरकारसँग विस्तृत शान्ति सम्झौताका साक्षीले नै अहिले माओवादीलाई पीडकका रूपमा चित्रित गर्न खोजेको दाहालले बताए । 'सरकारका तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीबाट मैले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थियौँ । हस्ताक्षर गर्ने बेलामा केपी ओली र माधवकुमार नेपाल मञ्चमै साक्षी थिए । अहिले केपी ओली र उनको गुटले विस्तृत शान्ति सम्झौता भएकै होइन, १२ बुँदे समझदारी भएकै होइन, संघीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै नेतृत्वमा आएकै होइन भनेर दिउँसै रात पार्ने काम गरिरहेका छन्,' उनले भने ।

गत असार ३१ गते सरकारले प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता गराएको थियो । सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रकाशित : भाद्र १३, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?