अल्फाबिटाका निर्देशकसँग मेयर शाहले भने- नक्सा मसँग हुन्छ कि तपाईंसँग ?- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अल्फाबिटाका निर्देशकसँग मेयर शाहले भने- नक्सा मसँग हुन्छ कि तपाईंसँग ?

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवलोकन गर्ने क्रममा भवनको नक्साको विषयलाई लिएर कम्प्लेक्सका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् ।

अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा निर्देशक शर्मा नमानेपछि मेयर शाह झोक्किएका हुन् ।

घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै निर्देशकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए ।

३५ दिने सूचना सार्वजनिक रुपमा जारी गरिएको भन्दै निर्देशक शर्मासँग मेयर शाहले 'तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग ?' भन्दै कराएका थिए । त्यसपछि ती घरबेटीले मेयर शाहलाई जनप्रतिनिधि भएर थर्काएको भन्दै आरोप लगाएपछि उनी शान्त भएका थिए ।

महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि हटाउन त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् ।

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।

अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।

मेयर शाहले नियमविपरीत बेसमेन्ट भाडामा लगाउने दिने घरबेटीले नै व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । उनले व्यवासयीहरूलाई सम्बन्धित घरबारे थाहा नहुने र त्यसको सम्पूर्ण विवरण दिने जिम्मेवारी घरबेटीकै हुने जनाएका छन् ।

महानगरपालिकाले संरचना हटाउन लाग्ने सम्पूर्ण खर्च घरबेटीलाई भर्पाइ पनि गराउने भएको छ ।

प्रकाशित : भाद्र ९, २०७९ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्

नेसपाले भदौ २० बाट प्रदेशस्तरीय अभिमुखीकरण सञ्चालन गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल समाजवादी पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय अभिमुखीकरण सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले अभिमुखीकरण हुने मिति र स्थान निर्धारण गरेको हो ।

अध्यक्ष बाबुराम भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार प्रदेश १ को इटहरी र सुदूरपश्चिमको धनगढीमा २० गते मधेसको जनकपुर र कर्णालीको सुर्खेतमा २२ गते अभिमुखीकरण हुनेछ ।

त्यस्तै लुम्बिनीको बुटवलमा र गण्डकीको पोखरामा २४ गते र वाग्मतीको काठमाडौंमा २५ गते अभिमुखीकरण हुनेछ । बैठकले ९८ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको छ भने ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनीत गरेको छ । केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।

त्यस्तै केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ ।

बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्दप्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी/दलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो. इजरायल अहमदलाई तोकेको छ ।

बैठकले मंसिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एमपी रिजाल, जनक शाह, नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय घोषणापत्र लेखन समिति बनाएको छ ।

अध्यक्ष महीन्द्र राय यादव संयोजक र सहध्यक्ष गंगा श्रेष्ठ सहसंयोजक रहनेगरी सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरू रहेको निर्वाचन परिचालन समिति गठन गरेको छ ।

प्रकाशित : भाद्र ९, २०७९ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×