नीलबाराही नाच : जहाँ नाच्नेहरू चार दिनसम्म खाँदैनन्, बोल्दैनन्- भिडियो - कान्तिपुर समाचार

नीलबाराही नाच : जहाँ नाच्नेहरू चार दिनसम्म खाँदैनन्, बोल्दैनन्

दिपेन्द्र रोक्का

भक्तपुर — भक्तपुरको मध्यपुर थिमिस्थित बोडेमा प्रत्येक वर्ष मनाइने 'नीलबाराही नाच' मंगलबार समापन हुँदैछ । यस नाचलाई नेपाल भाषामा नीलबाराही प्याखँ भनिन्छ ।

नीलबाराही नाच विशेषगरी १९ जना 'देवी देउताहरू'को मुकुन्डो लगाएर नाचिने पौराणिक नाच हो । यस नाचमा भैरव, बाराही, कुमारी, सिंह, द्वारपाल र गणेशको मुकुन्डो लगाइन्छ । यो नाच ४ दिन र ३ रातसम्म चल्छ । बोडेवासीहरूका अनुसार यो कठोर र पवित्र नाच पनि हो । जसमा 'देवी देउताहरू'को मुकुन्डो र पहिरन लगाउनेले खाना पनि नखाइकन ४ दिनसम्म नाच्ने गर्छन् । यतिसम्म कि नाच नसकुन्जेल उनीहरूका परिवारजनले पनि केही खाँदैनन् । साथै उनीहरू ४ दिनसम्म केही बोल्दैनन् । बरु सहयोगीलाई हातले इशारा मात्रै गर्छन् । नाचेर थकित भएमा सहयोगीको घुँडा वा काखमा आराम गर्छन् । स्थानीयवासीहरूले एक दिन दक्षिणा दिएर देउताहरूको पूजा गर्नुपर्ने हुन्छ । यस वर्ष नाचमा ८५ जना सहभागी रहेको स्थानीय श्रीकृष्ण खम्बु श्रेष्ठले बताए । यस नाचमा मादल, ता:, प्वङ्गगा, भुस्याय लगायत बाजाहरू प्रयोग गरिन्छ । नाच लाछीटोल, लायकु, विष्णुघाट, महालक्ष्मीस्थान, नीलबाराहीस्थानमा देखाइन्छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

पाटनमा पन्चदान मनाइँदै

दिपेन्द्र रोक्का

काठमाडौँ — किंवदन्तीअनुसार नेपाल संवत ५१२ देखि पञ्चदान पर्व मनाउने चलन चल्दै आएको हो । ललितपुरको पाटनमा श्रावण शुक्ल अष्टमीका दिन आज पञ्चदान मनाइएको छ ।

बौद्धमार्गी नेवा: समुदायका मानिसहरूले विभिन्न विहार , चोक , घरमा दिपंकर बुद्धको मूर्तिछेउमा दानशाला बनाइ माछा-मासुबाहेक धान , चामल , पैसा , खिर , बिस्कुट , नुन आदि दान दिने चलन छ । सामान्यतया पञ्चदानको अर्थ पाँच वस्तुको दान भए पनि नेपाल भाषामा 'पञ्जरा ' भनेको 'पुण्यदान ' हो । यस दिन शाक्य र बज्राचार्य शुद्ध रही खिर पकाइ खाने चलन पनि रहेको छ । यस दिनले दानको अभ्यासलाई महत्त्वपूर्ण स्थान दिने गर्दछ। शाक्यमुनि बुद्धलाई बुद्ध हुने भविष्यवाणी दिपंकर बुद्धले गरेका थिए भन्ने जनविश्वास रही आएको छ। आ-आफ्नै मौलिक तरिकाले काठमाडौं ,भक्तपुर र ललितपुरमा पञ्चदान मनाउने गरिन्छ ।

प्रकाशित : श्रावण २०, २०७९ १७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही भिडियोबाट
×