माओवादीको चुनाव चिह्नबाट बाबुराम भट्टराई र वामदेव गौतम लड्ने- भिडियो - कान्तिपुर समाचार

माओवादीको चुनाव चिह्नबाट बाबुराम भट्टराई र वामदेव गौतम लड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी निर्वाचनमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 'राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत गर्छौ । उहाँहरूका बाँकी नेताहरूलाई पनि चुनाव चिह्नबाट लड्न स्वीकृत गरेका छौं,' महराले भने ।

भट्टराई र गौतमले केही सर्त राखेको र त्यसबारे छलफल गर्न बाँकी रहेको महराले बताए । उनले दुवै जनाको उम्मेदवारीबारेमा सत्तारुढ गठबन्धनमा पनि छलफल हुने र टुंगो लाग्ने जानकारी दिए । माओवादी स्थायी समितिको बैठक बुधबार बिहान फेरि बस्ने भएको छ ।

माओवादी केन्द्रका नेता र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरू मंगलबार निर्वाचन आयोग जाँदैछन् । दुवै पार्टी एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाने जानकारी गराउनका लागि आयोग जान लागेका हुन् ।

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गतेका लागि घोषणा गरिएको छ ।

प्रकाशित : श्रावण ३१, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्

सत्तारुढ सांसदको दाबी : अपमानजनक नाम सच्याउन जाँदा दैलेखका प्रजिअले निवेदन च्यातिदिए

प्रजिअ प्याकुरेल भन्छन् : निवेदन च्यातेको होइन, सजिलो होस् भनेर अर्को नाम राख्न सुझाव दिएको हुँ
कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दलका सांसदहरूले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । दैलेखबाट प्रतिनिधित्व गर्ने नेकपा एकीकृत समाजवादीकी सांसद पार्वती विशुन्केले नागरिकतामा ‘ठगे कामी’ नाम रहेका कर्णबहादुर विश्वकर्मा जिल्ला प्रशासन कार्यालयमा पुग्दा प्रजिअ प्याकुरेलले विश्वकर्माको निवेदनसमेत च्यातिदिएको र नागरिकताको फारमसमेत काम नलाग्ने गरी केरमेट गरी दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरिन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विशुन्केले गृह मन्त्रालयले अपमानजनक नाम, थर सच्याउन निर्देशन दिइसकेको भए पनि सीडीओले जातीय विभेदलाई प्रश्रय दिने गरी थप अपमानपूर्ण व्यवहार गरिरहेको बताएकी हुन् ।

‘गृह मन्त्रालयले नाम/थर सच्याउन निर्देशन नै दिइसकेको छ । तर, अपमानजनक नाम भएका व्यक्तिहरू जिल्ला प्रशासन कार्यालय पुग्दा प्रजिअले सहयोग गरेका छैनन्, बरू थप अपमान गरेर पठाएका छन्,’ सांसद् विशुन्केले भनिन्, ‘नागरिकतामा अपमानजनक ‘कुकुर कामी’ नाम लेखिएपछि कालापहाड जान बाध्य पारिएका कविराम कामीले साउन २४ मै नाम सच्याउन निवेदन दिनुभएको छ, आजसम्म सच्चिएको प्रमाण पत्र पाउनुभएको छैन ।’

सांसद् विशुन्केले गृह मन्त्रालयको निर्देशनबिपरीत पदमा बसेर जातीय भेदभावलाई प्रश्रय दिने कार्य गर्ने प्रजिअ प्याकुरेललाई काबाही हुनुपर्ने माग गरेकी छिन् । ‘सार्वजनिक पदमा बसेर जातीय भेदभावलाई प्रसय दिने, र दिन लगाउने, दलित समुदायलाई जातकै आधारमा अपमान गर्ने गैरजिम्मेवार प्रशासकलाई कुन कानुनअनुसार कारबाही गर्ने हो ?,’ उनले प्रश्न गर्दै भनेकी छिन्, ‘म सरकारको ध्यानाकर्षण गराउँछु, यस्ता प्रशासकलाई कारबाही हुनुपर्छ ।’

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भने आफूले निवेदन नच्यातेको दाबी गरे । इकान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूले नाम सच्याउन सजिलो होस् भनेर 'ठ' बाटै केही नाम छान्न अनुरोध गरेको बताए । 'उहाँले प्रशासकीय अधिकृतलाई तोक लगाएर कर्णबहादुर नाम राखियोस् भनेर निवेदन दिनु भएको रहेछ । मैले 'ठ' बाटै केही नाम राख्न सुझाएको मात्र हो उहाँलाई सजिलो होस् भनेर । मैले निवेदन च्यातेको होइन । अनुसूची फारममा इन्टु(क्रस) लगाएको मात्र हुँ,' उनले भने । प्रजिअ प्याकुरेलले कविरामको यही हप्ताभित्र नाम सच्चिएर नागरिकता आउने बताए ।

मंगलबारकै बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले पनि गृह मन्त्रालयको निर्देशनअनुसार नागरिकतामा आफ्नो अपमानजनक नाम/थर सच्याउन आउनेलाई दुव्यर्वहार गर्ने प्रजिअलाई कारबाही गर्नुपर्ने माग गरिन् । उनले कानुनभन्दा आफूलाई माथि राखि दलितमाथि दुर्व्यवहार गर्ने प्याकुरेलले गृहको निर्देशनसमेत नमानेर जातीय दम्भ देखाएको आरोप लगाएकी छिन् ।

नागरिकतामै अपमानजनक नाम उपयोग भएको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले २३ साउनमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई त्यस्ता अपमानजनक नाम सच्याउने व्यवस्था गर्न निर्देशन गरेको थियो ।

प्रकाशित : श्रावण ३१, २०७९ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×