बैठकमा नबस्ने सांसदहरूलाई सभामुखले भने- 'सबैभन्दा माथि म छु भनेर ठान्नुपर्दैन, हामीभन्दा माथि कानुन छ'- भिडियो - कान्तिपुर समाचार

बैठकमा नबस्ने सांसदहरूलाई सभामुखले भने- 'सबैभन्दा माथि म छु भनेर ठान्नुपर्दैन, हामीभन्दा माथि कानुन छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेला गणपूरक संख्या नपुग्ने गरेकोमा असन्तुष्टि जनाएका छन् ।

सोमबार संघीय संसद सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धी’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पछिल्लो समय संसदमा गणपूरक संख्या नपुगेकोप्रति सभामुख सापकोटाले असन्तोष व्यक्त गरेका हुन् । पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने क्रम बढिरहँदा सभामुखबाट यस्तो प्रतिक्रिया आएको हो । यसरी सांसदहरू बैठक छाडेर बाहिरिँदा कतिपय महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि गणपूरक संख्या नपुग्ने गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्

चलचित्र विकास बोर्डमा केसीको नियुक्तिविरुद्ध मुद्दा : सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलायो

कान्तिपुर संवाददाता

काठमाडौँ — चलचित्र विकास बोर्डको  अध्यक्षमा भुवन केसीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाएको छ ।

नरेशकुमार पौडेलसमेले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा सुनुवाइ भएको थियो । उक्त इजलासले सोमबार अन्तरिम आदेशबारे छलफलका लागि सरकार र रिट निवेदकलाई भदौ २ गते बोलाएको हो ।

'अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिँदा अन्तरिम आदेशको लागि मिति २०७९ भदौ २ गतेको पेसी तोकी सोको सूचना विपक्षीहरूलाई दिनू ।'

अदालतले केसीलाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल पनि झिकाउने आदेश गरेको छ । नरेश पौडेललगायतले उनको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए ।

अध्यक्ष पदका लागि १० जना आका‌ंक्षी थिए । १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो ।

पहिलो संविधानसभा चुनावपछि केसी एमाले प्रवेश गरेका थिए । दोस्रो संविधानसभा चुनावमा एमालेले उनलाई समानुपातिक उम्मेदवार बनाउन खोजेको थियो । तर पार्टीभित्र चर्को विरोध भएपछि उनको टिकट खोसिएको थियो । त्यसपछि उनको नाम कहिले राप्रपा त कहिले उन्नत लोकतन्त्र पार्टीसँग जोडिएको थियो । पछिल्लो समय कांग्रेसमा प्रवेश गरेपछि सरकारले उनलाई बोर्डमा नियुक्ति गरेको थियो ।

प्रकाशित : श्रावण ३०, २०७९ १७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×