प्रकाशमान सिंह भन्छन् : ‘फर्स्ट म्यान भएँ भने स्वार्थ नभएको नेता कस्तो हुन्छ देखाउँछु’- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रकाशमान सिंह भन्छन् : ‘फर्स्ट म्यान भएँ भने स्वार्थ नभएको नेता कस्तो हुन्छ देखाउँछु’

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुनः काठमाडौं क्षेत्र नं. १ बाटै चुनाव लड्ने संकेत गरेका छन् । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित भएर प्रतिनिधिसभा सदस्य बनेका नेता सिंहले आगामी निर्वाचनमा पनि त्यही क्षेत्रबाट चुनाव लड्ने संकेत गरेका छन् ।

‘म यो क्षेत्रको जनप्रतिनिधि हुँ, मैले आफ्नो काम गरेको छु । यसको लेखाजोखा अब यहाँको समुदाय र जनताले गर्ने बेला आएको छ । मैले जनप्रतिनिधिका रूपमा इमान्दारिताका साथ आफ्नो भूमिका निभाएको छु,’ शनिबार थापाथलीमा भएको कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘मैले जनप्रतिनिधिका रूपमा गर्नुपर्ने काम गरेको छु । तर, अनावश्यक प्रचार गरेर हिँडेको छैन । हुन त अहिले हाम्रो चुनावी परिणामहरू हेर्दा ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखान सावित भएजस्तो लाग्छ ।’काठमाडौं क्षेत्र नं. १ मा नेता सिंहसँग अघिल्लो पटक तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र प्रत्याशी थिए भने अहिले पनि मिश्रले नै उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा पुकार बमले पनि यहीँबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले मतदाताले दुःख गरेर, पार्टीको राजनीति गरेर आएका मान्छेलाई भन्दा नयाँ मान्छेले थोरै आश्वासन दिँदैमा विश्वास गर्न थालेको गुनासो गरे । ‘पुरानो मान्छेहरू होइन, नयाँ मान्छेले यो गर्छु, त्यो गर्छु मात्रै भने पनि माथि पुर्‍याइदिएको छ । अहिलेको डिजिटल वर्ल्डले तल भएकालाई माथि-माथि भएलाई तल झार्ने रहेछ,’ उनले भने, ‘त्यसैले हामी पनि आफूले गरेको काम भन्नुपर्छ भनेर लागेका छौँ । डिजिटल प्रविधिको सदुपयोग हुनुपर्छ भन्ने लाग्छ ।’ उनले आफूले जनप्रतिनिधिका रूपमा क्षेत्र नं. १ मा सामुदायिक विद्यालयका संरचनादेखि दुःख पर्दा बस्ने किरियापुत्री भवनसम्ममा काम गरेको बताए । नेता सिंहले आफू लामो समयदेखि पार्टी र सरकारमा समेत कहिल्यै 'फर्स्ट म्यान' नभएको भन्दै मौका दिन आग्रह गरे । ‘म ग्रासरुटदेखि नम्बर टु भएर काम गरेको मान्छे हुँ । अहिलेसम्म नम्बर वान भएर काम गर्न पाएको छैन । मलाई कुनै कुराको लोभलालच छैन,’ उनले अघि भने, ‘म यदि नम्बर वान म्यान भए भने लोभलालच नभएको, कुनै स्वार्थ नभएको नेता ठाउँमा पुग्यो भने गर्न सक्छ भनेर पुष्टि गर्छु, म काम गरेर देखाउँछु ।’

प्रकाशित : श्रावण २१, २०७९ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्

दार्चुलामा खाद्यको शाखा कार्यालय उद्घाटन

मनोज बडू

दार्चुला — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जिल्ला शाखा कार्यालयको उद्घाटन गरेका छन् । शनिबार जिल्ला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजना गरेको कार्यक्रममा मन्त्री बडूले जिल्ला शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कम्पनीले दुर्गम जिल्लामा चामल उपलब्ध गराउनुपर्ने र यहाँ उत्पादन गरिने खाद्यवस्तु जिल्ला बाहिर पठाउने व्यवस्था गरिएको मन्त्री बडूले बताए । 'यहाँ उत्पादित चिजको ब्राण्ड बनाएर जिल्ला बाहिरको व्यापारमा पठाउनुपर्छ', उनले भने । त्यसको लाभ किसानले पाउनुपर्ने उनको भनाइ छ ।

२०६३ सालमा विस्थापन भएको तत्कालीन खाध्य संस्थानको जिल्ला कार्यालय १९ वर्षपछि पुन:स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ । कम्पनीका अनुसार खाध्य कार्यालय जिल्लामा रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने छ ।

जिल्लाका विभिन्न ठाउँमा खाद्यका डिपो भएपनि धनगढीबाट खाद्यान्न आपूर्ति गर्दै आएको हुनाले जिल्लामै शाखा कार्यालय खोलिएको हुनाले आपूर्तिमा सहज हुने भएको छ । कम उत्पादन हुने यहाँका दुर्गम ठाउँका स्थानीय बर्सेनि खाद्य संकट बेहोर्दै आएका छन् ।

प्रकाशित : श्रावण २१, २०७९ १४:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×