सांसद नभई मन्त्री हुन पाइँदैन, त्यसैले करोडौं खर्च गर्नुपर्छ : अध्यक्ष दाहाल- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद नभई मन्त्री हुन पाइँदैन, त्यसैले करोडौं खर्च गर्नुपर्छ : अध्यक्ष दाहाल

अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खारोमा लैजान्छ
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा धेरैभन्दा धेरै रकम खर्च गर्न नसके चुनाव जित्नै नसक्ने अवस्था आउन सक्ने बताएका छन् । धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनलेे बताएका हुन्  ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च एक अर्बमाथि हुने बताए । ‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन । अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ,’ अध्यक्ष दाहालले भने, ‘गाउँपालिकाको चुनावमा १० करोड रुपैयाँ खर्च गरेर जितेको धेरै ठाउँ देखिएको छ । एउटा गाउँपालिकाको अध्यक्षले १० करोड खर्च गर्ने भनेपछि प्रदेश र संघको चुनावमा त अर्बतिर जाने भयो । अब श्रमजीवी जनताले, क्रान्तिकारीहरुले चुनाव लडेर जितेर आउने भनेको सपना जस्तो हुनेभयो ।’

अबको चुनाव जितेर आउनेहरु दलाल पुँजीपतीहरु हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने पनि बताए । उनले देशको शासन प्रणाली पनि शासन देश अनुकूल नभएको दाबी गरे । ‘अब दलाल पुँजीपतीहरु आउने भए । नोकरशाह पुँजीपती आउने भए । भ्रष्टहरु आउने भए । त्यो खतरा दिनप्रतिदिन बढ्दो छ,’ उनले भने, ‘यसलाई विषय बनाएर हामीले गहिरो गरी संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भएका राजनीतिक दलहरुभित्र पनि छलफल पनि गर्न आवश्यक छ । ठूलो आन्दोलन गर्नुपर्ने भयो । नत्र यो निर्वाचन प्रणालीले देशलाई कहाँ लैजान्छ भन्न सकिँदैन, नराम्रो भुमरीमा लैजान्छ । भड्खारोमा नै लैजान्छ ।’

अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको उनले बताए । ‘हाम्रो अर्को सिस्टम पनि देशको अनुकूल छैन । शासन प्रणालीको दृष्टिकोणले पनि देशको अनुकूल छैन । सांसद हुने बेलामा करोडौं खर्च गरेर किन हुन्छ त मान्छे ? किनभने सांसद नभई मन्त्री हुन पाइँदैन, प्रधानमन्त्री हुन पाइँदैन । मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्छन् । सांसद भएपछि मन्त्री हुनपनि चल्नुपर्‍यो अनेक खालका खेलहरु । मन्त्री भएपछि लगानी उठाउनुपर्‍यो,' उनले भने, ‘भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणालीभित्र र शासन प्रणालीभित्र अन्तरनिहित छ । यसलाई हामीले रिजर्भ राखेका छौं । माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार छ । हामीले यो प्रणालीबाट जनताले पाउनुपर्ने कुरा पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखेका छौं।’

अध्यक्ष दाहालले देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गरे । माओवादी बलियो नभएसम्म उत्पीडित वर्ग, जाती र समुदायले सुख नपाउने उनको भनाइ थियो । पार्टीभित्र र कम्युनिष्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखापरेको पनि उनले बताए ।

प्रकाशित : श्रावण ९, २०७९ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा ‘झिमरुकतिर’

बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा ‘झिमरुक तिर’ शीर्षकमा शनिबारदेखि सुरु भएको कला प्रदर्शनीमा चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता अवलोकन गर्न सकिन्छ ।
सुशीला तामा‌ङ

काठमाडौँ — कतै खर, कतै ढुंगा र कतै परालले छाएका घरसहितको छिटिक्क परेको बस्ती । मानिसहरू आफ्नै दिनचर्या व्यस्त छन् । मुहारमा मुस्कान बोकेका आमाहरू, हरियाली वनपाखाले खुलेको प्रकृति, आफ्नै गति समाएको गौमुखी क्षेत्रको छाँगो, लमतन्न परेको रक गार्डेन र अतिथि कुर्दै बसेको काउछे दरबार हेर्न प्यूठानस्थित ओखरकोट झिमरुक गाउँपालिकातिर पुग्नै पर्दैन ।

झिमरुक गाउँको सिंगो सौन्दर्यलाई यतिबेला कलाकारहरूले राजधानीसम्म ल्याइपुर्‍याएका छन् । बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा ‘झिमरुक तिर’ शीर्षकमा शनिबारदेखि सुरु भएको कला प्रदर्शनीमा चित्र तथा तस्बिरमा झिमरुकको सुन्दरता अवलोकन गर्न सकिन्छ । एक्रेलिक रंग, काष्ठ प्रिन्ट कला, फोटोग्राफी र आलोक चित्रमा १० जना कलाकारले झिमरुकको प्राकृतिक, सांस्कृतिक, सामाजिक, मानवीय तथा वास्तुकलालाई उतारेका छन् ।

प्यूठान झिमरुक गाउँपालिका ओखरकोट कोटको फेदिखर्क छेउ जोगीथुममा सांस्कृतिक संग्रहालय स्थापना गर्ने उद्देश्यले गत वर्ष नै कलाकारहरूले झिमरुकमा स्थलगत रूपमा नै तयार गरिएका कलाकृतिहरु नै अहिले काउन्सिलमा प्रदर्शन गरिएको चित्रकार रतनकुमार राईले बताए । उनका अनुसार प्रदर्शन सकिएलगत्तै कलाकारहरूले कलाकृतिहरु संग्रहालयका लागि झिमरुक गाउँपालिकालाई हस्तान्तरण गरिनेछ ।

आधुनिकताले लोप हुँदै गएको झिमरुकको कला, संस्कृति, चाडपर्व, पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्न प्यूठानले भावी योजना प्रारूपमा विकास निर्माणसँगै कलाको संग्रहालयको अवधारण अगाडि सारेको थियो । सोही अवधारणालाई राजनीतिज्ञ मोहनविक्रम सिंह र गाउँपालिका अध्यक्ष तिलकबहादुर जीसीलगायतले सुरुवात गरेका थिए ।

गाउँपालिकाको आमन्त्रणमा झिमरुक पुगेका कलाकारहरुले त्यहाँका प्रकृति, बस्ती, आवास, परिवेश, मानव जनजीवन, संस्कृति, संगीत तथा मूर्त तथा अमूर्त सम्पदालाई नियालेर हुबहु उतारिएको चित्रकार राईले सुनाए । राईले चित्रमा झिमरुकको गौमुखी ओढारलाई उतारेका छन् । उनका अनुसार कलाकृतिहरुले त्यहाँको प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको सौन्दर्यलाई समेटेको छ । मानव सभ्यता, इतिहास र प्रकृतिलाई बोकेका यस्ता सम्पदाहरु कलामा उतारी राखेमा भावी पुस्ताका लागि दस्तावेज बन्ने उनको भनाइ छ । ‘आधुनिकताले सबै कुरा नयाँ बनेर जाँदैछन्,’ उनले भने,‘आजको कुरा भोलि नदेखिन सक्छ । कलामा उतारी राखे यो पछिसम्म रहिरहन सक्छ ।’

प्रदर्शनीमा रहेका कलाकृतिहरूमा झिमरुकबासीले प्रयोग गर्ने परम्परागत सामग्री, तिनको सौन्दर्य, बस्तीको संरचना, त्यहाँका अनुहार, धामिर्क स्थल, पुराना दरबार, पुराना बाजागाजासमेत चित्रण गरिएका छन् । कलाकृतिमा त्यहाँको मानव सभ्यता, समाज, विकास, मानिसले अवलम्बन गर्दै आएको कला, संस्कृति र सभ्यताका बाछिटाहरु मिसिएका देखिन्छ । चित्रकार कुन्तीश्री थापाका अनुसार ‘प्रत्येक गाउँ, ठाउँ, त्यहाँका मानिस, तिनको संस्कृति र सभ्यता आफैंमा एउटा जीवन्त संग्रहालय हो ।’ त्यहाँको परम्परागत शैलीका आवास र समग्र भेगको पहिचानलाई उनले चित्रमा उतारेकी छन् ।

कलालाई बेवास्ता गर्दै आएको समाजमा एउटा गाउँपालिका जस्तो स्थानीय निकायले त्यहाँको समग्र परिवेश र पर्यावरणलाई कलामा समेटेर संग्रहालय नै स्थापना गर्न गरको सुरुवात नै ज्यादै सह्रानीय रहेको चित्रकार जीवन राजोपाध्ययले बताए । ‘काठमाडौं महानगरपालिकामा नै एउटा गतिलो कला संग्रहालय छैन । कलालाई प्राथमिकता कतै पनि छैन । एउटा सानो गाउँपालिकाले गरेको सुरुवात गरको छ । यसबाट सबैले सिक्न जरुरी छ,’ उनले भने । देशैभर केन्द्र मात्र नभएर प्रदेश र स्थानिय तहमा झिमरुकले जस्तै सुरुवात गर्ने हो भने नेपालमा पनि कला क्षेत्रले विस्तार हुने चित्रकार नरेश सुन्दर सैंजुको धारणा छ । कलाको संग्रहालय बन्नु नै कुनै बस्ती तथा ठाउँका लागि सभ्यताको पहिचान बन्ने उनले सुनाए ।

संग्रहालय स्थापनाका लागि कलाकारहरू मुकेश श्रेष्ठ, राजकुमार रानामगर, सुदेशा थापा, सुजिता महर्जन, दुर्गा सुनुवार र फोटो तथा भिडियोमा सुदर्शन कार्की सहभागी भएका थिए । प्रदर्शनी सोमबारसम्म जारी रहनेछ ।

प्रकाशित : श्रावण ९, २०७९ १५:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×