प्रधानमन्त्री देउवाको आग्रह : विदेशका महंगा र विलासी वस्तु आयात नगर्नु

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा उत्पादित महंगा र विलासी वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताएका छन् । स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरूको उत्पादन वृद्धि र बजारीकरणमा जोड दिँदै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाको आग्रह : विदेशका महंगा र विलासी वस्तु आयात नगर्नु

आइतबार नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य चाप परेको भन्दै यसलाई निकास दिन विदेशमा उत्पादित महंगा र विलासी वस्तुहरू स्वदेशमा आयात गर्न छोड्नुपर्ने बताए ।

स्वदेशमै उत्पादन भएका वस्तु तथा सामग्रीको उत्पादन वृद्धि तथा बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउन उनको आग्रह थियो । यस्तै कृषि क्षेत्र मुलुकको अर्थतन्त्रको आधारस्तम्भ भएकोले कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण गरी आर्थिक वृद्धिको जग बलियो बनाउन उनको आग्रह थियो ।

प्रधानमन्त्री देउवाले विदेशी कच्चा पदार्थमा आधारित कम मूल्यवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि वन तथा खानी क्षेत्रका कच्चा पदार्थमा आधारित आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेको बताएका थिए ।

‘भर्खरै यस वर्षको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरेर मौद्रिक नीति सार्वजनिक गरिएको छ । यसबाट मुलुकमा कृषि क्षेत्र, उत्पादनमुलक, निकासीजन्य उद्योगको विकासको लागि सहयोग पुर्‍याउने नीति छ । मौद्रिक नीतिले प्रदान गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमुलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न अनुरोध छ । देशलाई जतिसक्दो चाँडो समृद्ध मुलुकको रुपमा स्थापित गर्नुपर्ने चुनौती हाम्रासामु छ । यसलाई मध्यनजर गरेर स्थानीय सम्भाव्यतालाई सक्दो उजागर गरेर देशभित्र उत्पादकत्व वृद्धि गर्न रोजगारीका अवसर सिर्जना गर्न र देशलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्छु,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

यस क्रममा उनले विदेशी मुद्रा आर्जन हुने आर्थिक क्रियाकलापहरूमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको पनि बताएका थिए । उनले भनेका छन्, ‘नेपालको अर्थतन्त्रमा आन्तरिक तथा वाह्य दुवै चाप परेको स्थिति छ । बढ्दो उपयोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमुलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्वमा बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप सुदृढ गर्न हामी सबैले बुद्धिमतापूर्ण ढंगले वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो छ । यसका लागि सरकार र निजी क्षेत्र दुवै एकआपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । अर्थतन्त्रको सुदृढीकरणका लागि उद्यमी व्यवसायीहरूले विदेशमा उत्पादित महंगा र विलासीपूर्ण वस्तुहरू स्वदेशमा आयात गर्न र उपयोग बढाउनतिर मात्र नलागेर स्वदेशमै उत्पादन भएका वस्तु तथा सामग्रीको उत्पादन वृद्धिमा सहयोग पुर्‍याउन आग्रह गर्दछु ।'

प्रकाशित : श्रावण ८, २०७९ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?