बिहीबारबाट सञ्चालनमा आउँदै साझा यातायातका विद्युतीय बस- भिडियो - कान्तिपुर समाचार

बिहीबारबाट सञ्चालनमा आउँदै साझा यातायातका विद्युतीय बस

के छन् सुविधा?
दिपेन्द्र रोक्का

काठमाडौँ — साझा यातायातले बिहीबारबाट ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । डिजेलबाट चल्ने अन्य बसहरूको तुलनामा यो सेवा सुविधा सम्पन्न मानिन्छ । सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । जुन वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छ ।

पुरानो डिजेल बस जस्तै यो बस पनि अपांगमैत्री छ । बसमा १६१.२८ किलो वाटको ब्याट्री प्रयोग गरिएको छ । जसले ४५ किलोवाटको चार्जरमा ५ घण्टा चार्ज गर्दा २०० किलोमिटर गुड्न सक्छ । १ चालक सिट १ अपांग सिट गरी बसमा जम्मा २६ सिट छन् । बसमा यात्रुका लागि आनन्ददायक सिट, उभिएर यात्रा गर्न ह्यान्डल बार, टिभी, वाइफाइ, सीसीटीभी, डस्टबिन, इमर्जेन्सी एक्जिट र बस रोक्न बिशेष बटनको सुविधा छ । यस्तै एबीएस, प्यासेन्जर अनाउन्समेन्ट सिस्टम, डीभीआर प्लेयर र जीपीएस ट्र्याकिङ डिभाइसले चालकलाई मद्दत गर्ने पनि अपेक्षा गरिएको साझा यातायातले जनाएको छ । इलेक्ट्रिक बस भएका कारण यसमा गियर र क्लच हुँदैन । साझा यातायातका प्रमुख कार्यकारी अधृकित महेन्द्र राज पाण्डेका अनुसार साझाका हाल सञ्चालनमा रहेका डिजेल बसलाई विद्युतीय बसमा रूपान्तरण गर्ने योजना अनुरूप ४० वटा विद्युतीय बस चीनबाट झिकाइएका हुन् । ग्लोबल टेन्डर मार्फत् खरिद गरिएका ४० वटा बस मध्ये ३ वटा बस यही बिहीबारबाट सञ्चालनमा आउने र अन्य बसहरू आउन केही महिना लाग्ने उनले बताए । साझा यातायातले हाल ७१ वटा डिजेल बसहरू सञ्चालनमा ल्याएको छ । अब ४० विद्युतीय बसहरू सञ्चालनमा आउँदा पुल्चोकमा रहेको ठाउँ साँघुरो हुने र चार्जिङ स्टेसन पनि धेरै चाहिने हुँदा नेपाल सरकारले अन्य ७ ठाउँमा जग्गा उपलब्ध गराइदिए सहज हुने उनको बुझाइ छ ।

प्रकाशित : असार २२, २०७९ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्

मल संकट र असारे भाका

दिपेन्द्र रोक्का

काठमाडौँ — मनसुन सुरु भएसँगै उपत्यकाको काठ क्षेत्रमा बिरलै सुनिने असारे भाकामा किसानहरूले धान रोप्न थालिसकेका छन् । मानो रोपेर मुरी उब्जाउने यो महिनामा भित्री मनमा दु:ख र चिन्ता भएपनि हाँसेरै अन्न उब्जाउन लागिरहेका भेटिन्छन् किसानहरु ।

बढ्दो महँगी र रासायनिक मलको अभावले अहिले भक्तपुरको चाँगुनारायणस्थित पिखेलका किसान चिन्तित बनेका छन् । समय अगावै किसानहरूलाई मल दिने कृषि साम्रागी केन्द्रका गोदाम पनि रित्तै छन्।सरकारले ४ किलोको दरले किसानहरूलाई मल उपलब्ध गराउने गरेको छ । उक्त मल अपुग हुने उनीहरू बताउँछन् ।

हरेक वर्षजसो किसानहरूले आफूहरूले बाली र ब्याडमा लगाउन मलको हाहाकार भएको गुनासो गर्ने गरेका छन् । पिखेल फाँटका केही किसान चर्को मूल्य तिरेर त केही सापटी लिएर धान लगाउन बाध्य भएका छन् ।केही किसानहरूले ६ महिनाअघि नै मल नपाउने सोचेर आफूलाई चाहिने मल जुटाइसकेका रहेछन् । पहिलेको वर्षमा ८०० रुपैयाँमा किनेको मल अहिले १२०० रुपैयाँमा पनि पाउन मुस्किल भएको बताउँछिन् निर्मला केसी। एउटा मात्र मल लगाउनु पर्नेमा ३ थरीको मल लगाएपछि कस्तो उब्जनी होला भनेर चिन्ता व्यक्त गर्छिन् उनी । लगाएको मकैमा पनि युरिया मल नपाउँदा बाली नसप्रने उनी बताउँछिन् । लक्ष्मीप्रसाद त्वाना मलको अभाव हुनुमा सरकारलाई दोष दिन्छन् । भन्छन्, 'यस्तो नाजुक अवस्था भइसक्दा पनि कुनै सरकारले केही गरेको छैन र गर्दैन पनि ।'

धान रोप्न मुख्यत: युरिया र डिएपी मल प्रयोगमा आउँछ । विरगन्जस्थित कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयले देशका १६ स्थानमा मलको आपूर्ति गर्दछ । लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गर्नुपर्ने ४० हजार टन डिएपी र ३० हजार टन युरिया अहिलेसम्म किसानको पहुँचमा आइसकेको छैन । अर्कोतिर जीटुजीमार्फत आयात गरिने ५० हजार टन युरिया र ३० हजार टन डिएपी मल आउने कुनै टुंगो छैन ।

सरकारले यो वर्ष रासायनिक मल खरिद गर्न २७ अर्बको बजेट छुट्याएको छ । पहिले कबुल गरेको रकमभन्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै ठेकेदारहरू मल ल्याउन मान्दैनन् । कृषि साम्रगी केन्द्रले यसै कारण धेरैको मल किन्ने ठेक्का पनि रद्द गर्दै आएको छ । मल अभाव भएकै कारण धादिङका कृषकहरूले काठमाडौं उपत्यकामा मल ल्याउँदै गरेको ट्रक नै नियन्त्रणमा लिएर मल लगे ।

तथ्यांकमा नेपालले वार्षिक ५३ देखि ५५ लाख टन धान उत्पादन गर्दछ जसमा हामीलाई चाहिने परिमाण भनेको ७० लाख टन हो । नेपालमा वार्षिक ३ खर्बभन्दा बढीको खाद्यान्न आयत हुने गरेको छ । सबैभन्दा बढी आयात हुने १० वस्तुको सूचीमा धान र चामल नै रहेका छन् । समयमा मल नपाउनाले उत्पादकत्व घट्ने र खाद्य सुरक्षामा चाप बढ्ने देखिन्छ ।


प्रकाशित : असार ६, २०७९ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×