स्वतन्त्र अभियानमा लागेका नेता भन्छन् - 'दलको विकल्प दलै हो'

काठमाडौँ — आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार उठाउनुपर्ने अभियानमा सहभागीहरूले दलको विकल्प दल नै भएको बताएका छन् । उनीहरूले अहिलेका राजनीतिक दलका नेतृत्वमा रहेकाले सही किसिमले राज्य संचालन गर्न नसकेको तर दलीय व्यवस्थाको विकल्प अरु हुन नसक्ने धारणा राखेका हुन् ।

स्वतन्त्र अभियानमा लागेका नेता भन्छन् - 'दलको विकल्प दलै हो'

स्वतन्त्र उम्मेदवारीको अभियान चलाइरहेकाहरूको शनिबार ललितपुरमा सुरु भएको भेलामा उपस्थितले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको छुट्टै दल गठन गर्नुपर्नेबारे छलफल भइरहेको हो । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा राजनीतिक दल गठन गरेर जाने विषयमा छलफल गर्न सो विशेष भेला आयोजना गरिएको काठमाडौं महानगरपालिकामा स्थानीय तह निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेदवार सुमन सायमीले बताए । 'संसदीय चुनाव नीति निर्माणका लागि हो । त्यहाँ बहुमतको कदर हुन्छ । एक व्यक्तिले नीति निर्माण र कानुन बनाउन सक्दैन । त्यै भएर दलको विकल्प दल नै हो भन्ने बुझ्नु जरुरी छ,' उनले भने, 'जनमानसमा वितृष्णा जागेको छ दलप्रति । दल एउटा माध्यम हो भन्ने पनि बुझाउन जरुरी छ । जनतालाई भ्रम भइरहेको छ, दल ठीक छैन, दलीय व्यवस्था ठीक छैन, यो व्यवस्था ठीक छैन भन्नु गलत हो भन्ने बुझाउन जरुरी छ ।'

सत्ता सञ्चालनमा रहेका राजनीतिक दलको नेतृत्व ठीक नभएकाले जनतामा वितृष्णा पैदा भएको उल्लेख गर्दै सायमीले त्यसमा गढेको त्यो धारणालाई चिर्नुपर्ने बताए । 'दल चलाउने नेतृत्वको चरित्र ठीक छैन भन्ने बुझाउन जरुरी छ । त्यसको लागि हामीले अहिले जुन समस्या आइरहेको छ, दलको विकल्प दलै हो,' उनले भने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमामा स्वतन्त्रहरूको पनि एउटा दलको आवश्यकता छ भन्ने निष्कर्षका साथ आफू भेलामा सहभागी भएको रवीन्द्रकुमार श्रेष्ठले बताए । उनले प्रदेश र संघीय निर्वाचनमा राजनीतिक दल नै आवश्यक पर्ने बताए । त्यसका लागि सबैबीच छलफल गरी निष्कर्षमा जानुपर्ने उनको भनाइ थियो । ‘प्रदेश र संघको निर्वाचनमा एउटा दलको आवश्यकता छ, नयाँ विचारसहितको । देशको समस्या यो हो । यसरी निकास दिन सकिन्छ भन्ने विचारसहितका नयाँ दल चाहिन्छ भन्ने मेरो विचार छ । प्रदेश र संघको निर्वाचनमा अनिवार्य छ दल,' उनले भने । देशभरबाट स्थानीय तह निर्वाचनमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरू भेलामा सहभागी भएका छन् । ‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाममा आयोजना गरिएको भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल गरिरहेको छ ।

प्रकाशित : असार १८, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?