तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी : कानुनमन्त्री

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले तत्कालको घटनाबाट प्रभावित भएर कानुनमा प्रभाव पार्ने प्रयास नगर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी : कानुनमन्त्री

तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी भएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसो नगर्न सांसद र संसदीय समितिहरूलाई आग्रह गरेका हुन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन ‘लिगल थिंक टयांक’ बनाएको उल्लेख गर्दै उसैले दिएको सुझावको आधारमा सरकार अघि बढ्ने पनि स्पष्ट पारे ।

संसद्ले मात्रै कानुन निर्माणमा प्रभाव पार्ने भए थिंक टयांकको आवश्यकता नै नहुने उनको भनाइ थियो । मन्त्री कोइरालाले भने, ‘नेपालको कानुन निर्माणको सबैभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित भएर कानुनमा ठूलो प्रभाव पार्ने कुरामा विचार गर्नुपर्छ । संसद् ठूलो कुरा हो तर लिगल थिंक ट्यांक बनाएको छ; त्यसैको आधारमा सरकार अगाडि बढ्छ । नत्र भने त सबै संसद्लाई छाडिदिए भइहाल्यो नि । किन सरकारले संसद्‌मा विधेयक लिएर आउनुपर्‍यो ?’

मन्त्री कोइरालाले महिला हिंसाका घटनाका पीडितलाई पीडकबाट असुल गरिएको जरिवाना सोझै उपलब्ध गराउने कानुनी व्यवस्था गर्न सकिने बताए । हाल पीडकबाट असुल गरिएको रकम हिंसा पीडित कोषमा जम्मा भएर पीडितले पाउने कानुनी व्यवस्था रहेकाले त्यसलाई परिवर्तन गरेर सोझै पीडितको हातमा दिन सकिने कानुनी व्यवस्था गर्न सकिने उनको भनाइ थियो । मन्त्री कोइरालाले भने, ‘पीडित कोषमा जम्मा भएर मात्रै क्षतिपूर्ति पाउने व्यवस्था छ । तर‚ मिलाउन के सकिन्छ भने जुन केसमा जरिवाना गरिएको छ, त्यसलाई सोझै क्षतिपूर्तिमा कन्भर्ट पनि गर्न सकिन्छ ।’

प्रकाशित : असार १७, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?