प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै हुनेछ : प्रधानमन्त्री- भिडियो - कान्तिपुर समाचार

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै हुनेछ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आगामी दिनमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन पनि समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

६४ औं संसद दिवसको अवसरमा पूर्वसांसद मञ्चले बिहीबार संघीय संसद भवनमा आयोजना गरेको कार्यक्रममा उनले लोकतान्त्रिक प्रणालीमा अध्यावधिक निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री देउवाले भने, 'हामी लोकतान्त्रिक अभ्यासमा छौं । आवधिक निर्वाचन समयमा गरिनेछ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण तरिकाले समयमै गर्न सरकार प्रतिवद्ध रहेको छ ।'

मुलुकलाई विकास र स्थायित्वतिर लाने दायित्व सबैको भएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले जननिर्वाचित व्यवस्थाअनुसार नै सबै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । 'जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्त्वपूर्ण हो । अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो,' उनले भने ।

प्रतिनिधिसभाको निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने तयारीमा सरकार रहेको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले संसद, संसदीय समितिको निर्देशनलाई सरकारले पालना एवं कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए ।

प्रकाशित : असार १६, २०७९ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ । असार १ गते प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बिहीबार बसेको प्रदेशसभा बैठकमा बहुमतले पारित गरेको हो ।

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको अर्थसम्बन्धीको प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सर्वसम्मत र विनियोजन विधेयक–२०७९ बहुमतले पारित भएको हो ।

बजेटको पक्षमा सत्तारुढ गठबन्धनका सांसदहरु उभिएका थिए । गठबन्धन हाल प्रदेशसभामा रहेका १०७ प्रदेशसभा सदस्यमध्ये गठबन्धनसँग ५९ सदस्य छन् । सरकारले आगामी आवका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको थियो । सरकारले आगामी वर्षको लागि ल्याएको बजेट चालू आर्थिक वर्षको भन्दा १३ अर्ब रुपैयाँले बढी छ ।

प्रकाशित : असार १६, २०७९ १५:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×