२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अर्बौंको चलखेलमा आयल निगम व्यापारीलाई दिइँदैछ भन्ने सुनिएको छ : पौडेल

काठमाडौँ — सत्तारुढ दल कांग्रेसका नेता रामचन्द्र पौडेलले अर्बौंको आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन् ।

अर्बौंको चलखेलमा आयल निगम व्यापारीलाई दिइँदैछ भन्ने सुनिएको छ : पौडेल

६४औं संसद् दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुखसमेत रहेका नेता पौडेलले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा मन्त्रीहरू लागेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको पनि उनले बताए । ‘आज पनि फेरि म सुन्दैछु, प्रधानमन्त्रीजीलाई सोध्न मन लागेको थियो । तपाईं मिडियाहरूको माध्यमबाट एउटा कुरा जाओस्– अहिले पनि म फेरि सुन्दैछु । आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे । र, तपाईंहरूलाई म सुनाउन चाहन्छु–त्यो चलखेल जो हुन्छन् नि । यो चलखेलको पछाडि करोड होइन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ ? त्यो आजीवन राजा हुने भइहाल्यो नि । यसैमा पनि खेलबाड । मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ । यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौं,’ उनले भने ।

त्यस्तै आफूलाई समाजवादी भन्न हानथाप गर्ने तर किसानको पक्षमा केही पनि नगरेको उनको भनाइ छ । समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको उनले बताए ।

‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन् । जहिले पनि मलको हाहाकार किन भयो ? किन भएको छ भने हामीले यो कुरा बुझेनौं–कांग्रेसभन्दा बढी एमाले समाजवादी । एमाले भन्दा माओवादी बढि समाजवादी । चर्काचर्का समाजवादी यहाँ छौं । तर यी चर्का समाजवादीहरुले के–के गरे ? अहिले किसानलाई जुन मार परिहेको छ । महँगी त पर्‍योपर्‍यो । मलको अभावको जुन मार परेको छ । त्यतापट्टि कसको ध्यान गयो ?,’ उनले भने ।

नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएका छन् । ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरुले खोज्ने नमिल्ने उनको भनाइ थियो ।

प्रकाशित : असार १६, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?