३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

न काम पाउँछन् न फर्कन सक्छन्

काठमाडौँ — कैलालीका देवगण महतो साउदी अरब पुगेको पाँच महिनासम्म काम गर्ने स्थान निश्चित छैन । जनवरी २७ मा साउदी पुगेका उनलाई इस्टर्न कन्स्ट्रक्सन मेन्टिनेन्स कम्पनीले रियाददेखि जेद्दासम्म भिन्न–भिन्न ठाउँमा कुदाइसकेको छ । पछिल्लो समय त्यो कुदाइ जेद्दाको विकट गाउँ बुमफिदामा आएर रोकिएको छ ।

न काम पाउँछन् न फर्कन सक्छन्

‘हामीलाई बिरालोले बच्चा सारेजसरी कम्पनीले सारेको सार्‍यै गर्छ, आज एउटा ठाउँमा पुर्‍याउँछ, भोलि झोला बोकेर कता पुर्‍याउँछ पत्तै हुँदैन,’ महतोले कान्तिपुरसँग फोनमा भने, ‘अहिले एउटा मजरामा ल्याएर राखेको छ ।’

त्यो मजरा जेद्दा जाने हाइवे रोडबाट मरुभूमितर्फ पर्छ । ‘एउटा सानो पुरानो गाउँ छ, चारैतिर रमल (बालुवा) बाहेक केही देखिँदैन, अलि ठूलो सहर पुग्न दुई घण्टा गाडीमा जानुपर्छ,’ उनले भने, ‘यहाँ ल्याएर हामीलाई सडक बढार्न लगायो । सडकको दायाँबायाँ रूख रोप्ने र काट्ने काम लगायो ।’ ५० डिग्रीको तापक्रममा दिनभर सडकमा काम गर्नुपर्दा उनी गलिसकेका छन् । ‘नेपालमा हामीलाई ठूलो सपना देखाए, काम निकै सजिलो छ भन्थे, यहाँ आएपछि बाँच्नै कठिन भयो,’ उनले भने, ‘सडक बढार्नका लागि दुई लाख रुपैयाँ तिरेर साउदी आएको होइन ।’ उनीहरू एक हजार रियाद न्यूनतम तलब पाउने, खानाबापत ३ सय रियाल पाउने गरी साधारण क्लिनरको काम गर्न साउदी आएका थिए । ‘हामीलाई सुपरमार्केट वा अफिसको क्लिनर भनेर पठाइयो, यहाँ आएपछि ८ सय रियाल तलब पाउने गरी अर्को करारपत्र थमाइयो,’ उनले भने, ‘भित्रको काम नभएर सडकमा कुदाइरहेको छ ।’ आगोको रापजस्तो गर्मीमा काम गर्न नसक्ने भएपछि महतोसहित १४ जना पुरानो घरमा बसिरहेका छन् । ५ महिनामा उनीहरूले एक पैसा पनि घर पठाउन सकेका छैनन् । ‘काम छोडेर बसेको एक महिना भयो, भुइँमै सुत्छौं, अहिलेसम्म कम्पनीले तलबबापत भनेर एक पैसा दिएको छैन, सुरु–सुरुमा त खानाबापत भनेर महिनाको दुई सय रियाल दिएको थियो, काम छाडेर बसेपछि खाना पनि बन्द गरेको छ,’ उनले भने, ‘एउटा खबुज (रोटी) को भरमा ज्यान जोगिएको छ । घरमा खानेपानी आउँदैन । शौचालयको पानी पिइराख्नुपरेको छ ।’

ब्लु ग्यालेक्सी ओभरसिजले उनीसहित १ सय ४५ जनालाई साउदी अरब पठाएको थियो । ती सबैलाई कम्पनीले जहाँ काम भेटिन्छ, त्यहीं पठाउने गरेको पीडित कामदारको भनाइ छ । ‘हामी १४ जना भने बुमफिदामा आइपुगेका छौं, हामीसँगै आएका केही साथीहरू नेपाल फर्किसकेको सूचना आएको छ,’ कैलालीका दीपक महतोले भने, ‘घरमा पैसा नपठाएको ५ महिना भयो । हामीले लिएको ऋणको ब्याज बढेर कहाँ पुग्यो होला ? यता हामीले खाना खान पाएको छैन । गाउँमा हाम्रा बुबाआमा र श्रीमतीले के खाएर बाँचिरहेका होलान् ?’

प्रकाशित : असार १४, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?