कान्तिपुर हिसान शैक्षिक मेलामा २ लाख सहभागी
काठमाडौँ — ‘उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिएर आयोजित ४ दिने कान्तिपुर हिसान बृहत् शैक्षिक मेला (एडुफेयर) सोमबार सकिएको छ । मेलाको अन्तिम दिन ७५ हजार जना विद्यार्थी अभिभावकले मेलाको अवलोकन गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा जारी मेलामा २ लाख जना सहभागी भएको संयोजक युवराज शर्माले जानकारी दिए । सोमबार पनि बिहानदेखि साँझसम्म विद्यार्थी, अभिभावकको भीडभाड भएको थियो ।एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको हो । गत असार १० गते शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको समुद्घाटन गरेका थिए । उनले सरकार र निजी क्षेत्रले लगानी वृद्धि गर्न सके नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताएका थिए । त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शैक्षिक मेलाले विद्यार्थीलाई स्वेदशी शिक्षणसंस्थामा अध्ययन गर्न प्रोत्साहन गर्ने बताएका थिए ।