कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

काठमाडौँ — आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले समेत मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै नेपाली कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मंगलबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न ध्यानार्षण गराएका हुन् । थापा र शर्माले सोमबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर त्यसबारे ध्यानाकर्षण गराएका थिए ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसले गरायो आयोगको ध्यानाकर्षण

आयोगसँगको छलफलपछि महामन्त्री शर्माले कांग्रेसले विगतदेखि नै विदेशमा रहेका नेपालीको मताधिकारबारे सरकार र आयोगको ध्यानाकर्षण गराउँदै आएको र त्यसलाई अहिले निर्णायक मोडमा पुर्‍याउन आफूहरूले प्रयास गरेको बताए ।

‘विदेशमा लाखौँ नेपाली छन्, जसले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको छ, उनले मताधिकार किन नपाउने ? हामीले विदेशमा रहेका नेपालीले पनि संवैधानिक व्यवस्थाबमोजिम मतदान गर्न पाउनुपर्छ भनेर सरकार र आयोगको ध्यानाकर्षण गराएका हौँ,’ महामन्त्री शर्माले भने ।

सर्वोच्च अदालतले दुई वर्षअघि नै विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउने व्यवस्था गर्न सरकारलाई कानुन निर्माण गर्न आदेश दिएको थियो ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासको ६ बुँदे परमादेशमा विदेश गएका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेशस्थित कूटनीतिक नियोगले तयार गर्ने लगतलाई आधिकारिक मान्न, भोटिङका विभिन्न प्रविधि प्रयोग गर्न र आवश्यक परे ‘पाइलट टेस्ट’ गर्न भनेको थियो । तर‚ सरकारसँग कुन देशमा कति नेपाली छन् भन्ने यकिन तथ्यांक छैन ।

महामन्त्री शर्माले आयोगले आन्तरिकरुपमा कानुनको मस्यौदा तयारी गर्ने काम गरिरहेको जानकारी लिएको र त्यसलाई द्रूत गतिमा अघि बढाएर विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएको बताए ।

‘हामीले विदेशमा रहेका नेपालीको भोट गाँस्नेमात्रै होइन, भावना गाँस्ने कुरा पनि हो । नेपालको भूगोलबाहिर बसे पनि भावनात्मकरुपमा नेपालीलाई जोड्ने प्रयास हो; यसलाई कानुन निर्माणलाई गति दिएर सकेसम्म आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीको सहभागितालाई बढाऔँ भन्ने सुझाव दिएका छौँ,’ उनले भने, ‘विदेशमा बसेका नेपालीको नोटमात्रै होइन, हामी भोट चल्ने दिन ल्याउन चाहान्छौँ ।’

प्रकाशित : असार ७, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?