कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार एकलौटी रूपमा कांग्रेसको नभएको भन्दै पार्टीसँग आबद्ध संघसंगठनहरूलाई धेरै माग नगर्न आग्रह गरेका छन् । गठबन्धन सरकार भएकाले कांग्रेसले चाहेअनुसार मात्रै नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस् : प्रधानमन्त्री देउवा

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन भने सरकारको दृढ संकल्प रहेको बताए ।

'एउटा कुरा के बुझ्नु पर्‍यो भने तपाईंहरूले, यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरूले यो धेरै माग दाबी गर्ने कुरा छैन,' उनले भने, 'कतिपय बजेटमा आएका छन् । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं । कोभिड- १९ महाकारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यवसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको कुरा हामी सबैलाई थाहा नै छ ।'

प्रधानमन्त्री देउवाले सरकारले कोभिड- १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियान लगायत कार्यक्रमहरूले हाल कोभिड नियन्त्रणमा आए पनि रुस-युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतिबाट गुज्रिएको बताए । जसकारण श्रमिकहरूको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत प्रभाव पारेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भने, 'यस चुनौतिपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुन:स्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन, श्रमजीविहरूलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोग जरुरी छ । नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ । यसैगरी प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामूहिक सौदावाजी गर्ने हकको सुनिश्चितता गरेको छ ।'

ट्रेड युनियन कांग्रेसलगायत मुलुक अन्य ट्रेड युनियनहरूले श्रमिकको सुरक्षा र सुविधामा उठाउँदै आएको मागप्रति सरकार संवेदनशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ती विषयलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी क्रमिक रुपमा सम्बोधन गर्दै जानेमा उनले प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित : जेष्ठ २९, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?