चित्रवीरको संघर्ष

विप्लव भट्टराई

इलाम — ह्वीलचियरको भरमा एक्लो जीवन जीउनु सन्दकपुर गाउँपालिका–४ मावुका ३७ वर्षीय चित्रवीर गुरुङको बाध्यता हो । सदरमुकामबाट २५ किलोमिटर उत्तरको विकट गाउँका उनी धेरै पटक मृत्यु नजिक पुगे । ६ पटकको शल्यक्रिया पछि पुनर्जीवन पाएका चित्रवीरको संघर्ष सामान्य छैन । उनी हातमुख जोर्नका लागि फोटो खिच्ने, स्टेसनरी चलाउने गर्छन् ।

‘हरेक खाले समस्याको सामना गर्दै समाधान खोजिरहेको छु,’ उनले भने, ‘अब भने आफ्नै पौरखले गुजारा चलाउन सकिन्छ भन्ने हिम्मत पलाएको छ ।’ उनलाई महिना वा दुई महिनामा स्वास्थ्य उपचारका लागिका काठमाडौं धाउनुपर्ने र कुन बेला स्वास्थ्यमा समस्या आउँछ भन्ने टुंगो भन्ने हुँदैन ।

वडा कार्यालयको ठीक अगाडि उनको पसल छ । ह्वीलचियर गुडाउँदै पसलको सबै काम एक्लै गर्छन् । बुबाको पत्तो नभएका चित्रवीरले आमाको पनि अनुहार देख्न पाएनन् । विभिन्न शुभेच्छुक र गाउँपालिकाको सहयोगमा बनाइएको सानो कोठामा उनको पसल छ । त्यही सुत्छन् । ह्वीलचियरकै सहारामा करिब सय मिटर टाढाको तीनकुने चोक पुग्ने उनी अहिले भने त्यहाँसम्म पुग्न सक्दैनन् । उनको पसल अगाडिको बाटो भलले खोलेपछि ह्वीलचियर गुड्न सक्दैन । कम्तीमा हरेक मौसम सुहाउँदो बाटो बनाइदिएको भए हुने भन्ने उनलाई लागेको छ । उनीसँग स्थानीय सरकार र समाजसँग थुप्रै गुनासा छन् । समाजका हरेक अनियमिततामा प्रश्न उठाउने उनी आफैंप्रति भएको अन्यायको पनि खुलेरै विरोध गर्छन् । दैनिक जीवनयापनमा चित्रवीरलाई निरन्तर साथ दिइरहेका निर्मल गुरुङको परिवार उनलाई दीर्घकालका लागि जीउने ठोस आधार तयार गरिनुपर्नेमा जोड दिन्छन् । वार्षिक ४० हजार रुपैयाँभन्दा धेरै औषधिकै लागि खर्च गर्नुपर्ने उनी अहिलेको बासस्थान अस्थायी भएकाले स्थायी व्यवस्थाका लागि पनि भौंतारिँदै छन् ।

प्रकाशित : जेष्ठ २४, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्

जिल्ला समन्वय जुम्लामा कांग्रेस-एकीकृत समाजवादी गठबन्धन 

डीबी बुढा

जुम्ला — जिल्ला समन्वय समितिको निर्वाचनमा जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । गठबन्धनबाट कांग्रेसका गौरीनन्द आचार्यले प्रमुख र एकीकृत समाजवादीका जनक थकालीले उपप्रमुखमा मनोनयन दर्ता गराएका हुन् । आचार्यले चन्दननाथ नगरपालिका १ बाट खुला सदस्यमा जितेका थिए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् । 

उपप्रमुखमा मनोनयन दर्ता गराएका एकीकृत समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । उनी कार्यपालिका सदस्यमा निर्वाचित भएर उपप्रमुखमा मनोनयन दर्ता गराएका हुन् । कार्यपालिका सदस्य लड्दा उपप्रमुखको उम्मेदवार थकालीले माओवादीसँग तालमेल गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले एकीकृत समाजवादी र कांग्रेस गठबन्धनको टोली आएर मनोनयन दर्ता गराएको बताए ।

सदस्यमा एक जना एकीकृत समाजवादीले र सबै सदस्य कांग्रेसले लिएको छ । कांग्रेसबाट खुला सदस्यमा नरविर सुनार, धनसुर बुढा, एकीकृत समाजवादीका पदमबहादुर रावतले मनोनयन गरेका हुन् ।

यसैगरी महिला सदस्यमा रचा रावत, लग्नमाया भण्डारी बुढा, लक्ष्मी काफ्ले र गंगादेवी रोकायाको उम्मेदवारी परेको हो । अहिलेसम्म कांग्रेस-एकीकृत समाजवादीको टोलीले मात्र मनोनयन दर्ता गरेको सहायक निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिए । उनका अनुसार ४ बजेसम्म मनोनयन दर्ता नआएको खण्डमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका लालबहादुर सार्की प्रमुख र उपप्रमुखकांग्रेसका कार्मा बुढा निर्वाचित भएका थिए । कांग्रेस-माओवादी तालमेल गरेर जिल्ला समन्वय समिति गठन भएको थियो । जिल्ला समन्वय समितिको निर्वाचन जेठ २९ गते तोकिएको छ । जसका लागि मंगलबार मनोनयन दर्ता भएको हो । २७ गते निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत जवाहरप्रसाद सिंहले जानकारी दिए ।

जुम्लामा ८ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा कांग्रेसले ५ पालिकामा अध्यक्षसहित २ उपाध्यक्ष र एक नगर उपप्रमुख जितको थियो । माओवादी केन्द्रले सिंजा, तिलामा अध्यक्ष र तातोपानी र पातारासीमा उपाध्यक्ष जितेको थियो । एकीकृत समाजवादीले गुठीचौर गाउँपालिकामा उपाध्यक्ष जितेको हो । कुल १६ मतदातामध्ये ८ कांग्रेस, १ समाजवादी र १ स्वतन्त्र छन् ।

कांग्रेसलाई बहुमत पुग्न एक मतको आवश्यक थियो । एकीकृत समाजवादीसँग तालमेल गर्दा जित सुनिश्चित भएको हो ।

प्रकाशित : जेष्ठ २४, २०७९ १६:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×