कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुदूरपश्चिमदेखि काठमाडौं आउँदा लखनउ पुगेर फर्किनुपर्थ्यो, अहिले त्यस्तो दु:ख छैन : प्रधानमन्त्री देउवा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले विकास निकै ठूलो फड्को मारेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताए ।

सुदूरपश्चिमदेखि काठमाडौं आउँदा लखनउ पुगेर फर्किनुपर्थ्यो, अहिले त्यस्तो दु:ख छैन : प्रधानमन्त्री देउवा

‘म एसएलसी पास गरेर काठमाडौं छिरेको हुँ । त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौं आउनुपरेको थियो,’ उनले भने, ‘अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको छ । अहिले त्यस्तो दुःख छैन ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै गरिबीको समस्या कायम रहेको बताए ।

‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो । गरिबी अझै पनि हटेको छैन । सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन् । हाम्रो देशको जुन पछिल्लो आर्थिक अवस्था छ, त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘फेरि पनि पहिलेभन्दा धेरै विकास भएको छ भन्ने लाग्छ । महाकाली त्यही छ, पश्चिम सेती त्यही छ । त्यहाँ थुप्रै सम्भावनाहरू छन् ।’

उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताए । ‘यो प्रदेश मानव विकास सूचकांकमा पछाडि छ । यसलाई माथि उठाउनुपर्ने छ । त्यसका लागि तीन वटै तहका सरकारले सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेछ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले सम्भावनाअनुसार लगानी भए सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताए ।

‘सुदूरपश्चिमको विकासको सम्भावना धेरै छन् । त्यसका लागि हामीले काम गर्नुपर्नेछ । त्यहाँ लगानी गर्ने मान्छेहरू लगानीको वातावरण पाउन सकेका छैनन् । सुरक्षित महसुस गरेका छैनन् । त्यसका लागि हामीले थुप्रै कामहरू गर्नुपर्नेछ,’ उनले भने, ‘ती काम भए भने सुदूरपश्चिम देशकै सबैभन्दा धनी प्रदेश बन्न सक्ने सम्भावना राख्दछ ।’

प्रकाशित : जेष्ठ २२, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?