संसद् अवरोध गर्ने/नगर्नेबारे निर्णय भइसकेको छैन : उपनेता नेम्वाङ- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् अवरोध गर्ने/नगर्नेबारे निर्णय भइसकेको छैन : उपनेता नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संघीय संसद्‌मा अवरोध गर्ने कि नगर्ने भन्नेबारे नयाँ निर्णय भइनसकेको बताएका छन् । उनले पार्टीका शीर्ष नेताहरू संसद्‌मा कसरी प्रस्तुत हुने भनेर निर्णय लिनका लागि परामर्शमा रहेको जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बजेट अधिवेशनको पहिलो बैठक मंगलबारका लागि बोलाइएको छ । २०७८ भदौयता संघीय संसद्का दुवै सदन अवरोध गर्दै आएको एमालेले नयाँ अधिवेशनमा के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । उपनेताले नेम्वाङले मंगलबार ३ बजेसम्म निर्णय लिने जानकारी दिए । 'संसद्मा के गर्ने भन्नेबारे टुंगोमा पुगिसकिएको छैन । के गर्ने भनेर सल्लाह गरिरहेका छौं,' उनले भने ।

मंगलबार नै मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा भने नेम्वाङले संसद्को अवरोधलाई स्थानीय तहको निर्वाचनसँग जोडेका थिए । 'हामी अहिले नयाँ निस्कर्षमा पुगिसकेका छैनौं । तर हामी छलफलमा पनि छौं । स्थानीय निकायको निर्वाचनको सम्बन्धमा जनताको बीचमा गएका छौं । जनताले एउटा निस्कर्ष दिएका छन् त्यो निस्कर्षमा पूर्णता आउन बाँकी छ । यो सबै सन्दर्भलाई हामी ध्यानमा राखेर विचार गरिरहेका छौं । तर अहिले नै नयाँ निर्णयमा पुगिसकेका छैनौँ,’ उनले भनेका थिए ।

एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याएको र माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन गरिएको भन्दै एमाले संसद्मा अवरोध गर्दै आइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोहो विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेका छन् । उक्त मुद्दा पटकपटक पेसी चढेपनि सुनुवाई हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

धादिङको गजुरीमा माओवादीका श्रेष्ठ र कांग्रेसका बिसुराल विजयी

कान्तिपुर संवाददाता

धादिङ — गजुरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी भएका छन् । श्रेष्ठले ६ हजार ३ सय ८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले चार हजार ५१ मत ल्याए । 

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विसुराल विजयी भइन्। उनले ५ हजार ६ सय ९९ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गरिन् । अध्यक्षमा पराजित बस्नेत २०७४ सालको निर्वाचनमा विजयी भएका थिए भने उपाध्यक्षमा विजयी विसुराल पराजित भएका थिए ।

गजुरी गाउँपालिकाको वडा नं १, ५, ६, ७, ८ को वडा अध्यक्षमा माओवादी केन्द्र र वडा नं २, ३, ४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा तारानाथ भण्डारीले ६ सय ९०, वडा नं २ मा द्रोण कडेंलले ६ सय ७१, वडा नं ३ मा ऋषिलाल श्रेष्ठले ४ सय ६९, वडा नं ४ मा सुरेन्द्र प्रजाले ८ सय ८० मत ल्याए ।

त्यस्तै वडा नं ५ मा गोविन्द लामिछानेले एक हजार १३, वडा नं ६ मा भक्तबहादुर तामाङले एक हजार दुई सय ५, वडा नं ७ मा बद्री प्रसाद जमकट्टेलले ७ सय ७१ मत, वडा नं ८ मा देवराज ओझाले ९ सय ४६ मत ल्याए ।

प्रकाशित : जेष्ठ ३, २०७९ १४:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×