गठबन्धनको समीक्षा गर्नेछौं : अध्यक्ष नेपाल- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनको समीक्षा गर्नेछौं : अध्यक्ष नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले गरेको प्रदर्शनका विषयमा पार्टीभित्र समीक्षा गर्ने बताएका छन् ।

मंगलबार २९ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी)ले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको विषयमा समीक्षा गरिने बताएका हुन् । उनले स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पार्टीले प्राप्त गर्नुपर्ने जति नभएको बताए । उनले पार्टीले अपेक्षा गरे अनुसार मत परिणाम नआएको भन्दै गठबन्धनका घटकले नै आफूहरूसँग सहकार्य गर्न नचाहेको बताए ।

‘हाम्रो पार्टी निर्माणका सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समीक्षा गर्नेछौं । गठबन्धनको पनि समीक्षा हामी गर्नेछौँ,' नेपालले भने, 'समीक्षा गरेर कहाँ राम्रो भयो, कहाँ त्रुटी गर्‍यौं र आगामी दिनमा हामीले के कुरामा होस गर्नुपर्ने हो । त्यस हुनाले हामीले अहिलेसम्मको निर्वाचनको परिणाम अवश्यपनि हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला ।'

स्थानीय तहमा ५ सय सदस्य, एक सय वडा अध्यक्ष जित्ने स्थितिमा पार्टी पुगेको नेपालको भनाइ थियो । उनले झन्डै १५, २० जना पालिकाका प्रमुख, उपप्रमुख जित्ने स्थिति बनेको बताए । 'कतिपय ठाउँमा राम्रै अवस्था पनि छ । अझैपनि कतिपय ठाउँमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौँ । गठबन्धन दलका सदस्यले हामीसँग सहकार्य गर्न चाहेनन् । हाम्रा आफ्नै कुराहरु होलान् । अरुका आफ्नै गुनासा होलान् । जे सुकै गरे पनि यो पार्टीलाई बलियो जगमा उभ्याउनु पर्नेछ । यो पार्टीलाई जनताको माझमा क्रियाशिल गर्नुपर्ने छ,’ उनले भने ।

नेपाले पार्टीलाई वैचारिक रुपमा दह्रो बनाउनुपर्ने बताए । पार्टीलाई बलियो जगमा उभ्याउँदै जनताको माझमा क्रियाशील गराउन नेता, कार्यकर्ताहरूलाई उनको आग्रह थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेमा उम्मेदवार निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापाले जित हासिल गरेका हुन् ।

यसअघि ५ वर्ष गाउँपालिका अध्यक्षमा रहेका अर्जुन पुनः ५ वर्षका लागि गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को स्थानीय चुनावमा एमाले-माओवादी केन्द्र मिलेर चुनाव लड्दा उनले कांग्रेस उम्मेदवार नरबहादुर गुरुङलाई ९ सय २ मतले पराजित गरेका थिए । यसपटक उनले गठबन्धनबाट कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई १ हजार ७ सय ६१ मतले पराजित गरेका छन् ।

जितमा अर्जुनले ६ हजार १ सय ३० मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी कांग्रेसका लोकनाथले ४ हजार ३ सय ६९ मत ल्याएको निर्वाचन अधिकृत उदयराज काफ्लेले बताए ।

उपाध्यक्षमा जुनमायाले सत्ता गठबन्धनका उम्मेदवारको भन्दा १ हजार ८ सय ८५ मत बढी ल्याएका छन् । उनले ५ हजार ८ सय ९५ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अजय तामाङले ४ हजार १० मत ल्याएका छन् ।

वडातर्फ नेकपा एमालेका उम्मेदवारतर्फ वडा नं. १ मा रुद्रमान गुरुङ, वडा नं. २ मा चेतबहादुर गुरुङ, वडा नंं ३ मा दुतमान तामाङ, वडा नं. ७ मा तिलबहादुर गुरुङ र वडा नं. ८ मा धनसिंह तामाङ वडाध्यक्षमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट वडा नं. ४ मा बलबहादुर गुरुङ, वडा नं. ५ बाट घनश्याम घले, वडा नं. ६ बाट मीनराशी गुरुङ र वडा नं. ९ बाट हरिबहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७९ १३:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×