३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमति भइसकेको दाबी गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति भइसक्यो : नेपाल

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरुबीच मिलेर जाने सहमति भएको बताएका हुन् ।

अध्यक्ष नेपालले अब पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रीय कमिटी बैठकले महत्त्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाइ छ । अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘हाम्रो सम्पूर्ण ध्यान अब निर्वाचनमा केन्द्रित हुनेछ । निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । निर्वाचनको निम्ति नै संगठन, शक्तिको परिचालन, निर्वाचनको निम्ति नै योजनाको निर्माण सिंगो पार्टी पंक्ति उपयुक्त ढंगले परिचालन गरेर अगाडि बढाउनुपर्ने आवश्यक्ता छ ।'

त्यस्तै आउँदो निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दल मिलेर जाने सहमति भएको उल्लेख गर्दै उनले भने, 'हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरुसँग पनि कुराकानी गरिरहेका छौं । हाम्रो सहमति रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौं । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसका निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुपर्‍यो । ठीक मूल्यांकन गर्नु पर्‍यो । अरु पार्टीहरुको शक्ति कति छन, त्यसको पनि जानकारी हुनुपर्‍यो ।'

त्यस्तै एमाले नेताहरूलाई अझै पनि शक्तिशाली छौँ भन्ने भ्रम रहेको पनि उनले बताए । उनले भने, 'कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने । तर, त्यो भ्रम समयक्रममा प्रस्ट हुनेछ । उनीहरुले भ्रममात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नु पर्दछ । यसबीचमा हामीले दुई पटक निर्वाचनमा भाग लिएका छौं । राष्ट्रिय सभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षड्यन्त्र भएको थियो । ती भयंकर षड्यन्त्रहरुलाई हामीले विफल पार्‍यौं ।’

प्रकाशित : फाल्गुन २५, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?