कोरोना नियन्त्रणमा 'मेरो पार्टी, तेरो पार्टी' नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना नियन्त्रणमा 'मेरो पार्टी, तेरो पार्टी' नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिन्छ ।’प्रधानमन्त्री देउवाले तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए । प्रधानमन्त्रीले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड-१९ विरुद्धको खोप लगाउने संख्या वृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए । नेकपा एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो ।

प्रकाशित : माघ १, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्

लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा राप्रपाको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लिपुलेक-कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरिरहेको विषयमा आपत्ति जनाएको छ । राप्रपाले सत्तारुढ गठबन्धन सरकारको यसबारे आश्चर्यजनक मौनता दुःखद् र रहस्यमय भएको भन्दै सरकारले त्यसको प्रतिवाद गर्नुपर्ने भनेको छ ।

‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको र केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ,’ राप्रपाका महामन्त्री भुवन पाठकले शनिबार विज्ञप्तिमार्फत् भनेका छन्, ‘कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमिमाथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

राप्रपाले नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे सरकारले भारतसंग कुटनैतिक र राजनीतिक तहमा संवाद गरि अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न माग गरेको छ ।


प्रकाशित : माघ १, २०७८ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×