गृहमन्त्री खाँणको सुझाव- 'नेपाली मौलिक गहनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याऊँ'

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताएका छन् ।

बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरूसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनु पर्ने बताएका हुन् ।
नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भए पनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उनले बताए ।
नेपाली पुर्खाहरूले लगाएको गहनाको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै त्यस अनुरुपको गहना बनाई विदेशी मुलुकमा पठाउन उनले व्यवसायीहरूलाई आग्रह गरे ।
गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्नसक्ने उनको धारणा थियो । ‘सुनचाँदीको हकमा त्यस्तो खालको सुन नै उत्खनन् गर्न नसकिए पनि केही उत्पादन हुनसक्ने सम्भावना छ । आयातमा हामी भर पर्नुपर्ने कारणले कच्चा सुनलाई नेपाल भित्र्यायौं भने पनि नेपाल बाहिर गहनाको रुपमा हामीले उत्पादन गरेर पठाउन सक्छौं । हाम्रो परम्परागत गहना छन् । त्यसका आफ्नै मौलिकता छन् । समाजको विकाससँग त्यो समाजको अध्ययन, अन्वेषणका लागि पनि त्यो गहनाको धेरै ठूलो महत्व देखिन्छ । पूरातात्विक महत्व पनि छ,' मन्त्री खाँणले भने ।
नेपालमा वर्षौंअघि लगाइने गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सकेमा त्यसले नेपालको मौलिकता झल्कने भन्दै त्यसबारे तयारी गर्न व्यवसायीहरूलाई उनले सुझाव दिएका थिए ।
मन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने पनि बताए । साथै कच्चा सुन किन्दा विदेशी भूमिमा पुगेको पैसा गहना विक्री गरेसँगै नेपाल फर्किने पनि उनको तर्क थियो ।
‘नेपाली कालिगढहरूलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्छ । नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भने पनि त्यसले मद्दत पुर्याउँछ । विदेशमा गहना निर्यात गर्न सक्यौं भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यता ध्यान दिनुस् । विधि अनुकुल तपाईँहरू अगाडि बढ्नुस्,’ मन्त्री खाँणले भने ।
प्रकाशित : पुस २८, २०७८ १८:५४