आगामी चुनावमा एमालेले कुनै मोर्चाबन्दी गर्नु पर्दैन : ओली

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताहरू आफ्नो पार्टीको साथमा रहेको भन्दै आफ्नो पार्टीले आगामी चुनावमा कुनै पनि मोर्चाबन्दी गरिरहनु नपर्ने दाबी गरेका छन् ।

आगामी चुनावमा एमालेले कुनै मोर्चाबन्दी गर्नु पर्दैन : ओली

अध्यक्ष ओलीले आगामी निर्वाचनलाई ध्यानमा राखेर सुदृढ र विस्तृत संगठन निर्माणको काममा ढिलाइ गर्न नहुने भन्दै केन्द्रीय सदस्यहरूलाई आग्रह गरेका छन् ।शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अन्य पार्टीबाट एमालेमा प्रवेश गर्नेहरूको लहर ल्याउने र आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न पनि उनले नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष ओलीले पार्टीका नेताहरूलाई हरेक वडा तहमा जाँदा पनि त्यहाँको पाँच मुख्य कामबारे जानकारी लिएर आउन कडा निर्देशन दिए । 'जनताको चाहना अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन हाम्रो पार्टीले अब सबै तहमा जाँदा त्यहाँको मुख्य मुख्य पाँच कामबारे जनतालाई सोधेर आउनुपर्ने, त्यसरी आउँदा मात्रै आगामी दिनमा जनताको चाहना अनुसार पार्टीले काम गर्न सक्छ,' अध्यक्ष ओलीले भने ।

स्थानीय तह, जिल्ला र प्रदेशमा आगामी दिनमा गर्नुपर्ने कामहरूबारे जनताबाट जानकारी लिन पनि अध्यक्ष ओलीले अरु नेताहरूलाई निर्देशन दिएका थिए ।'पाँच वटा काम के हुन् ? वडाका के हुन् ? पालिकाका के हुन् ? प्रदेशसभा निर्वाचन क्षेत्र र निर्वाचन क्षेत्रका के हुन् ? जिल्लाका के हुन ? यी प्रश्नहरू हामी जनताका बीचमा सोध्ने छौं । यसबाट जनताका विकासका चाहना हामी बुझ्नेछौं । यस्ता अनेक हिसाबले हामी जनताका बीचमा जान्छौं,' अध्यक्ष ओलीले भनेका छन् ।

अध्यक्ष ओलीले पार्टी मातहतका सबै जनवर्गीय संगठनलाई अविलम्व अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न पनि निर्देशन दिएका थिए । उनले पार्टीको चालु केन्द्रीय कमिटी बैठकले कार्य विभाजन पनि गर्ने भएकाले पाएको जिम्मेवारी तीव्रता साथ पूरा गर्न नेताहरूलाई सचेत गराएका थिए ।

प्रकाशित : मंसिर २५, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?