१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

काठमाडौँ — नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सोमबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिएको हो ।६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरिएन्ट पुष्टि

दुवैजना अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।ती व्यक्ति गत मंसिर ३ गते नयाँ भेरिएन्ट पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जानकारी दिएको छ । ती व्यक्ति र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा मंसिर ७ गते कोरोना पुष्टि भएको थियो । उनीहरूबाट संकलन गरिएको नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा आइतबार ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ ।सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा देखिएको कोरोनाको बी.१.१.५२९ भेरिएन्टलाई २६ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले 'भेरिएन्ट अफ कन्सर्न' भन्दै ओमिक्रोन नामाकरण गरेको थियो । अहिलेसम्म दक्षिण एसियाका भारत र श्रीलंकासहित विश्वका ३९ देशमा कोरोनाको यो भेरिएन्ट फैलिइसकेको छ । भारतमा पनि २१ जनामा यो भेरिएन्ट पुष्टि भइसकेको छ ।

३० पटकभन्दा बढी उत्परिवर्तित भएको भनिएको ओमिक्रोन भेरिएन्ट कति संक्रामक छ र खोप कति प्रभावकारी छ भन्नेबारे भने प्रस्ट भइसकेको छैन । ओमिक्रोन भेरिएन्टले कोरोनाको अर्को लहर निम्तिन सक्ने भन्दै विश्वका अधिकांश देशले अफ्रिकी देशहरूबाट हुने यात्रामा रोक लगाएका छन् ।

प्रकाशित : मंसिर २०, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?