२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रोचक बन्दैछ हनुमानढोका संग्रहालय

काठमाडौँ — विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा रहेको हनुमानढोका संग्रहालयमा विगतमा अवलोकन गर्न नपाइने पुरातात्त्विक र आकर्षणका थुप्रै सामग्री समावेश गरिएको छ ।

रोचक बन्दैछ हनुमानढोका संग्रहालय

हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार, २०६८ सालमा हनुमानढोका दरबारस्थित न्हुंच्छे चोक र फरास खानाबीचको भवन जिर्णोद्वार गर्ने क्रममा पुरातात्त्विक र सांस्कृतिक महत्त्वका सामग्रीहरु फलामको सेफमा पुरिएको अवस्थामा भेटिएको थियो ।

ती सबै सामग्रीको लगत तयारी गरिसकिएको र हाल हनुमानढोका संग्रहालयमा केही दुर्लभ सामग्रीको प्रदर्शनी समेत सुरु गरिएको छ ।

यसमा इष्ट इडिया कम्पनीले जारी गरेका सुनका सिक्काहरु, तात्कालीन समयका नापतौलका सामग्री, राज्यभिषेक समारोहमा हात्तीको शिरमा सजाइने चाँदीको चन्द्रकलश, चाँदीका मुकुटहरु आदि रहेका छन् ।

खनालका अनुसार हनुमानढोका दरबार क्षेत्रमै पर्ने काष्ठमण्डप निर्माणबारे भने विकास समिति वा पुरातत्त्व विभाग समेत प्रत्यक्ष सरोकारसम्बद्ध छैनन् । ‘काष्ठमण्डप पुनर्निर्माणका क्रममा त्यहाँबाट झिकिएको ४ सुरका गणेश र गोरखनाथको मूर्ति भने हाम्रो संग्रहमा राखिएको छ,’ खनालले भने, ‘अहिले नयाँ प्रतिस्थापन गरिएकोबारे आइरहेको बहसमा हामी जवाफ दिने स्थानमा छैनौं ।’

वास्तुकलाका हिसाबमा महत्त्वपूर्ण स्थान रहेको हनुमानढोका दरबार क्षेत्रलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा संरक्षित क्षेत्रमा सूचीकृत गरेको थियो ।

प्रकाशित : मंसिर २०, २०७८ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?